मुख्यमन्त्री सिंह बिहानैदेखि जनकपुरधामका निजी अस्पतालहरूको अनुगमनमा, अधिकांश अस्पतालहरू अवैध

जनकपुरधाम, २६ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शनिबार बिहानैदेखि जनकपुरधामका विभिन्न निजी अस्पतालहरूको अनुगमन गरिरहेका छन् ।
मुख्यमन्त्री सिंहको नेतृत्वमा रहेको टोलीले समाचार तयार पार्दासम्म जनकपुरधामका एक दर्जनभन्दा बढी निजी अस्पतालहरूको अनुगमन गर्दा अधिकांश अस्पतालहरू कानूनी रूपले अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ ।
अहिलेसम्म जीवन ज्योति हस्पिटल एण्ड रिसर्च सेन्टर, बिएन हस्पिटल एण्ड रिसर्च सेन्टर, जनकपुर सिता हस्पिटल, जनकपुर ग्राण्डी हस्पिटल, साइन मल्टि स्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर, रामा मेमोरियल हस्पिटल, समर हस्पिटल, केयर मेडिकल सेन्टर, नेपाल अपोलो हस्पिटल, मिथिला केयर क्लिनिक, अरमान हस्पिटल, नयना हस्पिटल र मिहिला इन्टरनेशनल हस्पिटललगायतका निजी अस्पतालहरूको अनुगमन गरिएको छ ।
मुख्यमन्त्री सिंहले अधिकांश अस्पतालहरू दर्ता नगरी सञ्चालित रहेको र केही अस्पतालले २ देखि ४ वर्षसम्म नवीकरण नगरेको बताएका छन् । स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालहरूले कानूनी मापदण्ड पूरा नगरेको र जनताको स्वास्थ्यमा खेलवाड गरिरहेको पाइएको सिंहको भनाइ छ ।
यसअघि शुक्रबार राति मुस्कान अस्पताल पुगेका मुख्यमन्त्री सिंहले अस्पतालका सञ्चालक सैयद अलीलाई अस्पताल बन्द गरि सरकारलाई साँचो बुझाउन निर्देशन दिएका थिए । मुख्यमन्त्रीले अस्पताल प्रशासनलाई निर्देशन दिँदै आज बिहान ११ बजेभित्र अस्पताल बन्द गरी साँचो बुझाउन भनेका थिए ।
सोही अनुरुप मुस्कान अस्पताल बन्द गरि सञ्चालकले सरकारलाई साँचो हस्तान्तरण गरेको छ । सो अस्पतालका बिरामीहरूलाई जानकी हेल्थ केयरमा सारिएको छ ।
मुख्यमन्त्री सिंहले अस्पतालहरूको अनुगमनलाई कडाइका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन् । जनताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न अनियमित रूपमा सञ्चालन भएका अस्पतालहरूको कारबाही प्रक्रिया अघि बढाउनेसमेत उनले चेतावनी दिएका छन् ।
अनुगमन टोलीमा मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. राजिव मिश्रा, डा. सन्तोष ठाकुरलगायतकाहरू सहभागी छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


