महोत्तरी, २५ माघ । प्रहरीले महोत्तरी जिल्लाको भंगहा नगरपालिका–६ मजरास्थित बर्दिवास–जलेश्वर सडकबाट ठूलो मात्रामा गाँजा बरामद गरेको छ ।

बिहीबार राति साढे १० बजे गरिएको चेकजाँचमा प्रहरीले एक ट्रकमा लोड गरिएको ६०४ किलो गाँजा फेला पारेको हो ।

प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार बर्दिवासबाट जलेश्वर जाँदै गरेको प्रदेश २–०४–००१ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर चेकजाँच गर्दा यसका भित्री भागमा गाँजा लोड गरिएको थाहा भएको थियो ।

यस क्रममा ट्रकका चालक उदयपुर कटारी नगरपालिका–१ का २३ वर्षीय गणेशबहादुर विश्वकर्मालाई पक्राउ गरिएको छ ।

अनुसन्धानका क्रममा चालकबाट गाँजा र अन्य सामग्रीको बारेमा थप जानकारी संकलन गरिएको छ ।

प्रहरीले उक्त गाँजा तस्करीको जाँच अघि बढाएको र यस सम्बन्धमा अन्य अभियुक्तको खोजी भइरहेको जनाएको छ ।