काठमाडौं, २४ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले न्यायालयमा सुधारको आवश्यकता रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले न्यायालयलाई सक्षम र निष्पक्ष बनाउनको लागि सुधार आवश्यक रहेको धारणा राखे ।

साहले आफूमाथि अदालतको अपहेलना मुद्दा दर्ता गरिएको विषयमा सरकारको ध्यान आकर्षित गर्दै भने, ‘अदालत सक्षम हुनुपर्छ । न्याय निष्पक्ष हुनुपर्छ । न्यायलयमा सुधार हुनुपर्छ भन्नु गलत हो ? सरकारलाई सोध्न चाहन्छु– न्यायालयबाट विकृति विसंगति हटाउनुपर्छ भन्नु गलत हो ?’

साहले न्यायाधीशहरूको नियुक्ति, सरुवा र बढुवा सम्बन्धी प्रक्रियामा राजनीतिक हस्तक्षेप भइराखेको कुरा पनि उठाए । उनले भने, ‘न्यायाधीशको नियुक्ति, सरुवा–बढुवामा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्छ भन्नु अपराध हो ? दलीय प्रभावमा न्यायालयलाई राख्न हुँदैन भन्नु अपराध हो ? होइन भने म माथि अदालतको अपहेलना मुद्दा कसरी दर्ता भयो ? म सरकारको जवाफ चाहन्छु ।’

पूर्वमन्त्रीसमेत रहेका साहले भने, ‘न्यायलयमा राजनीतिक प्रभाव रह्यो भन्ने कतिपय अवस्थामा महसुस हुने गरेको छ । न्यायाधीशको नियुक्ति लिने बित्तिकै दलको कार्यालयमा पुगेको दृश्य हामीले बिर्सेका छैनौं । नेताको कोठा–कोठामा पुगेर सरुवा–बढुवा उन्नति खोज्ने दृश्यहरू पनि हामीले देखेका छौं । यो कुरा उठाउनु अपराध हो ? होइन भने कसरी अपहेलना भयो ? कानुन न्यायमन्त्रीको जवाफ चाहन्छु ।’

साहले न्यायलयमा सुधार ल्याउन र राजनीतिक दबावबाट मुक्त गर्नका लागि कदम चाल्नु जरुरी रहेको बताउँदै न्यायाधीशहरूको नियुक्ति प्रक्रिया र सरुवामा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्नका लागि सरकारसँग स्पष्ट जवाफको माग गरे ।