रौतहट, २४ माघ । जिल्ला अदालत रौतहटका न्यायाधीश मनोज केसी माथि कार्वाही र न्यायको माग गर्दै एक परिवार सिंगो परिवारसहित धर्नामा बसेको छ ।

कर्तब्य ज्यान मुद्दाका अभियुक्तलाई सफाई दिएको भन्दै गुनासो गर्दै राजन गुप्ता र उनका परिवारका सदस्यहरुले गत सोमबारदेखि अदालत अगाडी प्रदर्शन गरेका थिए ।

बुधवार राती ९ बजे जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले बलपूर्वक धर्नास्थलबाट परिवारलाई भगाएको थियो । राजन गुप्ताले भने, ‘आज बिहान १० बजेबाट पुनः धर्नामा बसेका छौं । हामीलाई न्यायको आवश्यकता छ ।’

घटनामा मृत्यु भएका यमुनामाई गाउँपालिका ४ सरुअठा गाउँका अनुठा गुप्ताको छोरा राम विनोद गुप्तालाई मर्नासन हुनेगरी कुटपिट गरिएको थियो । टाउकोमा गम्भीर चोट लागेका विनोद गुप्ताको उपचारको क्रममा २०७६ असार १० गते मृत्यु भएको थियो ।

यस घटनासँग सम्बन्धित अभियुक्तका नाममा निखिल सिंह, बिन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहित कुमार सिंह, अरविन्द कुमार सिंह, वडाबाबु सिंह र रामविनोद सिंह रहेका छन् । राजन गुप्ता र उनकी श्रीमती अनिता देवीले दिएको जाहेरीको आधारमा कर्तब्य ज्यान मुद्दा दर्ता गरिएको थियो ।

न्यायको माग गर्दै गुप्ता परिवारले भने, ‘हामीलाई न्याय दिइएन । हाम्रो आन्दोलन जारी रहनेछ । न्याय नपाएसम्म हामी विचलित छैनौं ।’ गुप्ताले परिवारलाई बारम्बार धम्की दिइरहेको र असुरक्षित महसुस गर्दै सुरक्षा माग गरेका छन् ।

सम्बन्धित घटना तथा न्याय प्रणालीमा भएको ढिलाइले रौतहटका जनतालाई चिन्तित पारेको छ । अन्य ४ जना आरोपी अहिले पनि फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।