जनकपुरधाम, २४ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मिथिलाको साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि जनकपुर साहित्य महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

छैटौँ संस्करणले साहित्यिक, सांस्कृतिक र सामाजिक चेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्याउने कुरामा विश्वास व्यक्त गर्दै उनले साहित्य र कलालाई वर्तमान भाइरल युगमा जीवन्त राख्नु चुनौतीको विषय रहेको उल्लेख गरे ।

मुख्यमन्त्री सिंहले उडिसाका हल्दर नागको उदाहरण दिँदै भने, ‘नागले मात्र कक्षा ३ सम्म अध्ययन गरे पनि उनका कविताबाट ५ विद्यार्थीले पीएचडी गरेका छन् । यसले देखाउँछ कि प्रतिभा र सिर्जनशीलताको मुल्याङ्कन शैक्षिक प्रमाणपत्रमा मात्र निर्भर हुँदैन ।’

उनले जनकपुर साहित्य महोत्सवजस्तो सांस्कृतिक गतिविधि गर्नुपर्ने आवश्यकता राज्यको अपूरो भूमिकाको कारण उत्पन्न भएको बताए । ‘राज्यले सबै कुरा गर्न सक्दैन । तर, राज्यको प्रतिनिधित्व आवश्यक छ,‘ उनले भने ।

अहिलेको युगलाई ट्विटर र टिकटकको युगको रूपमा परिभाषित गर्दै उनले यस भाइरल युगमा साहित्य र संस्कृति जोगाउन ठूलो चुनौती रहेको उल्लेख गरे ।

मुख्यमन्त्री सिंहले संस्कृति र सभ्यता संरक्षणको आवश्यकता औंल्याउँदै रामायणकालको प्रसङ्ग ल्याए । उनले भने, ‘रामलाई राम बनाउन सीताको ठूलो भूमिका रहेको थियो। पुरुष चाहे जति पराक्रमि भए पनि नारीको सहयोग बिना अगाडि बढ्न सक्दैन ।’

मुख्यमन्त्री सिंहले नेपालको जंगलको भू–भाग समाप्त हुँदै गएकोप्रति चिन्तासमेत व्यक्त गरे ।