चितवन, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनलाई देश परिवर्तनको मूल स्रोतका रूपमा उल्लेख गर्दै यहाँबाट न्याय र परिवर्तन जन्मिएरै छाड्ने दाबी गरेका छन् ।

बिहीबार चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि लामिछानेले संक्षिप्त प्रतिक्रिया दिँदै चितवनलाई देवभूमि भन्दै यस भूमिले आफूलाई मात्र होइन देशलाई नै न्याय दिने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।

चितवन जिल्ला अदालतको आदेश अनुसार ५४ लाख रुपैयाँ धरौटीमा रिहा भएका लामिछानेले भने, ‘हाम्रो चितवन देवभूमि हो । देवता बस्ने ठाउँ हो । यहाँ देवताजस्ता मान्छे बस्छन् । यसले देशलाई न्याय दिन्छ भन्ने कुरामा म विश्वस्त छु ।’

सभापति लामिछानेले चितवनलाई विशेष धार्मिक महत्त्वको क्षेत्रको रूपमा पनि प्रस्तुत गर्दै भने, ‘देवघाटमा स्नान गर्नु भनेको कुम्भमेलामा सयौं पटक स्नान गर्नु बराबर हो भनेर सयौं मानिसले भनेका छन् । यो ठाउँको महत्त्व अत्यन्तै गहिरो छ ।’

लामिछानेले अघिल्लो निर्वाचनमा पनि चितवनले परिवर्तनको सुरुवात गरेको दाबी गर्दै भने, ‘चितवनले व्यक्ति होइन, देशमा परिवर्तन चाहियो भनेर मत दिएको हो । यो परिवर्तन देशव्यापी हुनेछ र परिवर्तन जन्मनु बेलाको पीडा हो । तर, परिवर्तन जन्मिएरै छाड्छ ।’

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।