बागमती नदीको कटानले सर्लाहीका जनता पीडामा : अमरेश सिंह

काठमाडौं, २४ माघ । सर्लाही जिल्लाका जनताले वर्षौंदेखि बागमती नदीको कटानका कारण पीडा भोग्दै आएका छन् । प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले आजको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर यो मुद्दा उठाउँदै सर्लाहीका जनता निरन्तर संकटमा परेको बताएका छन् ।
डा. सिंहका अनुसार बागमती नदीको कटानले सर्लाहीको बरथहवा नगरपालिकाका वडा नम्बर १, २, ४, १३, र १४ लाई गहिरो क्षति पुर्याउँदै आएको छ । उनले भने, ‘वर्षौंदेखि गाउँलेहरूको बिजोक भइरहेको छ । मैले सरकारको ध्यानाकर्षण गराइरहे पनि अहिलेसम्म यसको समाधानका लागि ठोस कदम चालिएको छैन ।’
उनले सरकारलाई जनताको दुःखभन्दा मन्त्री निवास निर्माणमा ध्यान दिएको आरोप पनि लगाए । सर्लाहीका जनताको समस्या सुल्झाउनेतिर सरकारको ध्यान नपुगेकोमा डा. सिंहले असन्तोष व्यक्त गरे ।
सर्लाहीको धनकौलमा बागमती नदीमा ब्यारेज निर्माणको काम ११ वर्षदेखि अधुरो रहेको प्रसंगमा उनले सरकारको आलोचना गरे ।
उनले २०७० सालमा कांग्रेसकै प्रधानमन्त्री सुशील कोइरालाले यो ब्यारेजको शिलान्यास गरे पनि अझै पूरा हुन नसकेको बताए । ‘कुल १०–१२ करोडको लागतमा बन्ने यो परियोजना ११ वर्ष बित्दा पनि सम्पन्न भएको छैन । अहिले पनि कांग्रेसकै मन्त्री हुनुहुन्छ । तर, काम पूरा भएको छैन,’ सिंहले जनाए ।
जनताको समस्यालाई बेवास्ता गर्दै सरकारले आफ्ना सुविधा र संरचनामा मात्र ध्यान दिने प्रवृत्तिको अन्त्य गरिनुपर्ने भन्दै डा. सिंहले सरकारको ध्यानाकर्षण गराए ।