जनकपुरधाम, २४ माघ । संसदीय मामिला पत्रकार समाज, जनकपुरधामको नयाँ कार्यसमिति गठनबारे सभामुख रामचन्द्र मण्डललाई औपचारिक जानकारी गराइएको छ ।

नवगठित समाजका अध्यक्ष वीरेन्द्र रमणको नेतृत्वमा टोली प्रदेशसभा पुगेपछि सभामुखलाई समाजको उद्देश्य र गठनबारे विस्तृत जानकारी गराएको हो ।

समाजका सचिव विकास कुमार साहले समितिको गठनसहितको आधिकारिक पत्र पढेर सुनाएपछि सभामुख मण्डललाई उक्त जानकारी पत्र हस्तान्तरण गरिएको थियो ।

सभामुख मण्डलले पत्रकार महासंघ धनुषाले प्रदेशसभा र पत्रकारिता क्षेत्र बीचको समन्वयमा लिएको पहलकदमीको प्रशंसा गर्दै यसले दुवै पक्षको हितका लागि महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । उनले लामो समयदेखि पत्रकार र प्रदेशसभा बीच रहेको अवरोध हटेकोमा सन्तोष प्रकट गर्दै समाजको कार्यका लागि छुट्याइएको कार्यालयको अवलोकन समेत गरे ।

सहभागीहरुले पत्रकार समाजको गठनले प्रदेशसभा र पत्रकारहरु बीच अझ राम्रो समझदारी कायम गर्न सहयोग पुग्ने विश्वास गरेका छन् । समाजको गठनका क्रममा सामुदायिक संवादको आवश्यकता र पारस्परिक सहयोगको महत्त्वबारे पनि चर्चा भएको थियो ।

संसदीय मामिला पत्रकार समाजको नयाँ कार्यसमितिमा ११ सदस्य रहेका छन् । वीरेन्द्र रमणको अध्यक्षतामा गठित समितिमा अन्य महत्वपूर्ण पदाधिकारीहरुसहित कार्यसमितिको संरचना तयार गरिएको छ ।

समाज गठनको क्रममा विगतमा देखिएको समन्वयको अभावलाई ध्यानमा राख्दै यस पटक एकीकृत रुपमा कार्यसमिति बनाइएको हो ।

यसअघि, २०७४ सालतिर समन्वयको अभावका कारण पत्रकार महासंघकी तत्कालीन उपाध्यक्ष मनिका झा र कान्तिपुरका मधेश ब्युरो प्रमुख अजित तिवारीको नेतृत्वमा दुई अलग समिति (समाज र मञ्च) गठन हुँदा कार्यसम्पादनमा समस्या उत्पन्न भएको थियो ।

नयाँ समितिले समन्वय र पारदर्शितालाई प्राथमिकता दिँदै प्रदेशसभासँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।