काठमाडौं, २४ माघ । राष्ट्रिय सभाको बैठक आज अध्यादेश पेस नभइ आइतबारसम्मका लागि स्थगित भएको छ ।

बिहीबारका लागि बोलाइएको बैठकमा अध्यादेश पेस हुने भनिएको थियो । तर, राष्ट्रिय सभामा देखिएको राजनीतिक अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी रहेकाले निर्णयार्थ पेस गर्न नसकिएको बताइएको छ ।

राष्ट्रियसभाको बैठक अब आइतबार अपराह्न १ः१५ बजे बस्ने तय भएको छ ।

आजको बैठकमा दुई महत्वपूर्ण विधेयक पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पेस गरे भने शिक्षामन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सभासमक्ष राखिन् ।

बैठकको शून्य समयमा केही सदस्यहरूले समसामयिक मुद्दाहरूमा आफ्ना विचार राखे ।

आजको राष्ट्रियसभाको बैठकलाई चासोका साथ हेरिएको थियो । आजको बैठकमा अध्यादेश पेस हुने अपेक्षा गरिएको थियो । तर, जसपा नेपालसँग भएको छलफलको अन्तिम टुंगो नलागेकोले आजको बैठकमा अध्यादेश पेस गर्न नसकिने जानकारी प्राप्त भएको छ ।