उपेन्द्र यादव नेतृत्वको जसपाको समर्थनको शर्त, मधेश प्रदेशको मुख्यमन्त्री माग

काठमाडौं, २४ माघ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको मुख्यमन्त्रीको पद आफ्नो पार्टीलाई दिने शर्तमा सरकारले प्रस्तुत गरेका अध्यादेशहरूलाई समर्थन गर्ने प्रस्ताव राखेका छन् ।
नेपाली कांग्रेसका एक शीर्ष नेताले यो विषयमा स्पष्ट पार्दै यादवलाई मधेशको मुख्यमन्त्री बनाउने गरी अध्यादेशमा समर्थन दिने सहमति बनिसकेको जनाएका छन् ।
कांग्रेस नेताका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली बीच भएको छलफलमा यो सहमति भएको हो । नेताले भने, ‘सभापति देउवा र प्रधानमन्त्री ओली छलफल गरेर कहाँ के गर्ने टुंगिन्छ । मधेशको मुख्यमन्त्रीको विषयमा जसपाको चासो छ । र, यो विषयमा सकारात्मक छलफल भइरहेको छ ।’
बिहीबार संघीय संसद्का दुवै सदनबाट सरकारले प्रस्तुत गरेका ६ वटा अध्यादेश पारित गर्ने कार्यसूची बनाइएको छ । प्रतिनिधिसभाबाट ती अध्यादेश सजिलै पारित हुने देखिए पनि राष्ट्रिय सभामा जसपा नेपालको निर्णायक भूमिका देखिएको छ । जसपा नेपालको समर्थनबिना राष्ट्रिय सभामा अध्यादेश पारित गर्न सरकारलाई चुनौती हुन सक्छ ।
जसपा नेपालले हालसम्म संघीय सरकारमा कुनै पनि भूमिका लिएको छैन र प्रदेश सरकारमा पनि सहभागी भएको छैन । जसपा नेपालका नेताहरूले सरकारको विश्वासको मत दिएको दललाई सरकारमा सहभागी गराउनुपर्ने माग गर्दै आएका छन् ।
सरकार र प्रतिपक्षका नेताहरू जसपाको समर्थन जुटाउन लागिपरेका थिए । बिहीबार बिहान उपेन्द्र यादवले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग छलफल गरेका थिए । उक्त छलफलमा यादवले मधेश प्रदेशको मुख्यमन्त्रीको पद आफ्नै दललाई पाउने गरी अध्यादेशमा समर्थन दिने प्रस्ताव राखेका थिए ।
यसैबीच, जसपा नेपालको संसदीय दलको बैठक जारी छ । बैठकले अध्यादेशलाई समर्थन गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय लिनेछ ।