काठमाडौं, २३ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पारित गरेको छ ।

यस निर्देशनाअनुसार अब चुरोट र अन्य सुर्तीजन्य पदार्थको प्याकेट तथा बट्टा माथि शत प्रतिशत चेतावनी चित्र र सन्देश अनिवार्य हुनेछन् ।

पारित निर्देशिकामा चुरोट र सुर्तीजन्य पदार्थका प्याकेटहरूको मुख्य भागमा अगाडि र पछाडिको शत प्रतिशत भागमा घातक रंगीन चित्र र चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि ९० प्रतिशत चेतावनी सन्देशको व्यवस्था थियो । यसलाई संशोधन गर्दै स्वास्थ्य मन्त्री प्रदी पौडेलले शत प्रतिशत भागमा चेतावनी छाप्नुपर्ने नयाँ निर्देशिका स्वीकृत गरेका हुन् ।

मन्त्री पौडेलका अनुसार, ‘चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरेका हौं ।’ उनी थप्छन्, ‘क्यान्सरको उपचार मात्र होइन, रोकथामका उपायहरूको खोजी हाम्रो प्राथमिकता हो ।’

विभिन्न विश्वव्यापी अध्ययनहरूका अनुसार चेतावनी सूचनाले सुर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन मद्दत पुर्याएको छ । नेपालमा हरेक वर्ष ३७ हजारभन्दा बढी मानिसहरू सुर्ती र चुरोट सेवनबाट ज्यान गुमाउने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालले यसअघि ७५ देखि ९० प्रतिशत चेतावनी सन्देश लागू गर्दा ब्लुमबर्ग अवार्ड पनि प्राप्त गरेको थियो ।

नयाँ निर्देशिका अनुसार चुरोटका बट्टा र प्याकेटमा ८० प्रतिशत खतराका चित्र र २० प्रतिशत चेतावनी सन्देश राख्ने व्यवस्था गरिएको छ । यस्तै, बिँडी र अन्य सुर्तीजन्य पदार्थमा पनि यही अनुपातमा चेतावनी चित्र र सन्देश राख्नु पर्नेछ ।

निर्देशिकामा सुर्तीजन्य पदार्थका प्याकेट, पेटी र पार्सलमा थप विशेष सन्देशहरू राख्नुपर्ने व्यवस्था छ । साथै, प्याकेजिङ र लेबलिङ गर्दा चेतावनी सन्देश र चित्र स्पष्ट देखिनेगरी राख्नुपर्ने कुरा उल्लेख गरिएको छ ।

यस निर्देशिकाले सुर्तीजन्य पदार्थको प्रचार–प्रसारलाई निषेध गर्दछ । अबका ६ महिनाभित्र उत्पादकहरूले ९० प्रतिशत चेतावनीयुक्त प्याकेट र प्याकेजहरू हटाउनु पर्नेछ । यो निर्देशिका १८० दिनपछि लागु हुनेछ ।

स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यो सुधारले सुर्ती चुरोटको प्रयोग घटाउने र क्यान्सर तथा अन्य रोगहरूको घटाउ ल्याउने अपेक्षा गरिएको छ ।