काठमाडौं २३ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दायर भएको छ ।

प्रहरी वृत्त सिंहदरबारको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा उक्त मुद्दा दर्ता गरेको हो ।

मुद्दामा नामित व्यक्तिहरूमा दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी, हुम्लाको अदानचुली गाउँपालिका–४ का ३२ वर्षीय महानन्द जैसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ की ५५ वर्षीय सितल राई (सीतादेवी राई) रहेका छन् । यस मुद्दामा अभियुक्तहरूसमेत विभिन्न दाबी गर्दै आफूलाई निर्दोष भनेका छन् ।

महानन्द जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाका उपसभापति छन् । त्रिपाठीमाथि कुनै किसिमको आक्रमण नगरेको बताउँदै आएका छन् ।

ललितकुमार केसीले भने आफू सहकारी पीडित भएको उल्लेख गरेका छन् । उनले आफ्ना बयानमा भने, ‘मैले ग्रेट गंगासागर सहकारीमा २१ लाख रुपैयाँ बचत गरेको थिएँ । त्यो फिर्ता भएको छैन । यसले गर्दा म सहकारीको नाम सुन्नासाथ आक्रोशित हुने गर्थें ।’

अर्की प्रतिवादी सितल राईले भने आफू कुनै पार्टी वा संघसंस्थामा आबद्ध नरहेको र त्रिपाठीमाथि कुनै आक्रमण नगरेको दाबी गरेकी छन् ।

नेपालको मुलकी फौजदारी अपराध संहिता दफा १८३ अनुसार ज्यान मार्ने उद्योगको कसुर गर्न नहुने उल्लेख छ । यदि कसैले यो अपराध गरेको पाइएको खण्डमा उनलाई १० वर्षसम्मको कैद र १ लाख रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था छ ।