अनलाइन मिडिया नियमनको आवश्यकता : मन्त्री गुरुङ

काठमाडौं, २३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अनलाइन मिडियाहरूको छाडापन र अराजक प्रवृत्तिलाई नियमन गर्न आवश्यक रहेको बताएका छन् ।
बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाको नियमन अपरिहार्य भएको बताए ।
उनले नेपाली अनलाइन मिडिया क्षेत्रको अराजक गतिविधिहरूलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै भने, ‘प्रेस स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही लेख्ने प्रवृत्ति मौलाएको छ, यसलाई रोक्न सरकार लागि परेको छ ।’ उनले फेक न्युज र हेट स्पिचजस्ता गलत क्रियाकलापहरू बढ्दै गएको बताउँदै यस्तो अराजकताको प्रश्रयले लोकतन्त्रलाई कमजोर बनाउने धारणा राखे ।
नेपाल धार्मिक सहिष्णुता र सामाजिक सद्भावको दृष्टिकोणले विश्वमै नमुना राष्ट्र भएको उल्लेख गर्दै उनले पछिल्लो समय अनलाइन मिडियाले यस सद्भावलाई भड्काउने कार्यमा संलग्न भएको आरोप लगाए ।
मन्त्री गुरुङले भने, ‘पत्रिका, रेडियो, टेलिभिजनजस्ता मिडियाहरू आचारसंहिताभित्र चल्नुपर्छ भने अनलाइन मिडियाहरू पनि त्यसैअनुरूप नियमनमा बस्नुपर्छ । अहिले अनलाइन मिडियामा फेक न्युज फैलाउने र व्यक्तिगत रूपमा बद्नाम गर्ने कार्यहरू भइरहेको छ । यसलाई नियन्त्रण गर्न जरुरी छ ।’
उनले राष्ट्रिय एकता, स्वाधिनता र सामाजिक सद्भावलाई मजबुत बनाउन अनलाइन मिडिया क्षेत्रलाई आवश्यकतानुसार व्यवस्थापन र नियमन गर्नुपर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


