जनकपुरधाम, २३ माघ । जनकपुरधाम उपमहानगरपालिकाले एचपीभी खोप अभियान २०८१ आजदेखि सुरु गरेको भए पनि अभियानमा केही गम्भीर चुनौतीहरू देखिएका छन् ।

स्वास्थ्य शाखाले आयोजना गरेको यो खोप अभियान जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित मा.वि. कुवा रामपुरबाट सुरु गरिएको छ ।

फागुन ६ गतेसम्म देशभरका किशोरीहरूलाई एचपीभी खोप प्रदान गर्ने लक्ष्य रहेपनि यो प्रक्रिया जनकपुरधाममा सुचारु हुनेमा शंका व्यक्त गरिएको छ । नगरका २५ वटा वडामा करिब १७ हजार किशोरीलाई खोप दिने भनिए पनि यस अभियानमा अव्यवस्थापनको संकेत देखिएको छ ।

उपमहानगरपालिकाको लक्ष्य विद्यालयमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई खोप दिनु भए तापनि, विद्यालयबाहिरका किशोरीहरूको खोप पहुँचमा समस्या उत्पन्न हुने आशंका छ । अभिभावकहरूले खोपको जानकारी नपाएको र विद्यालयहरूमा तयारीमा कमी रहेको गुनासो गरेका छन् ।

विद्यालयमा खोप दिनुपर्ने भनिए पनि विद्यार्थीहरूले कहिले र कसरी खोप लगाउने भन्ने स्पष्ट योजना छैन । विद्यालय नजाने बालिकाहरूलाई नजिकको विद्यालयमा खोप लगाउन भनिएको छ । तर ,यो प्रक्रिया जटिल र समयसापेक्ष छ ।

एचपीभी खोप पाठेघरको मुखको क्यान्सरबाट बच्न अत्यावश्यक मानिएको छ । तर, जनकपुरधामका थुप्रै परिवारहरू खोपको महत्त्वबारे अनभिज्ञ छन् । डाक्टरहरूले यो खोपले महिलाहरूलाई क्यान्सरको जोखिमबाट जोगाउने बताइरहेका भए पनि यो अभियानको प्रवद्र्धनमा जनचेतनाको कमी रहेको देखिन्छ । परिवारहरूलाई यो खोपको आवश्यकता र यसका फाइदाबारे पर्याप्त जानकारी नदिएको कारणले खोप कार्यक्रममा सहभागी हुनेको संख्या न्यून हुने अनुमान गरिएको छ ।

नेपालमा हरेक दिन औसतमा ६ जना महिलामा पाठेघरको क्यान्सर पत्ता लाग्ने र ४ जना महिलाको मृत्यु हुने तथ्यलाई ध्यानमा राख्दै यो खोप अपरिहार्य देखिन्छ । खोप अभियानको व्यवस्थापनमा भएका कमजोरीले दीर्घकालीन स्वास्थ्य जोखिम निम्त्याउन सक्छ । यदि समयमा खोप दिन नसकिए अभियानको लक्ष्य पूरा नहुनुका साथै स्वास्थ्य संकट थपिन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् ।

जनकपुरधाममा एचपीभी खोप अभियान सुरु भए पनि व्यवस्थापनमा देखिएका कमजोरीले यसको सफलतालाई प्रश्नचिन्हमा राखेको छ ।