काठमाडौं, २३ माघ । आम जनता पार्टी (आजपा) ले जनआन्दोलन दिवसको अवसरमा आगामी २४ चैतमा काठमाडौँमा भ्रष्टाचार र कर आतंक विरुद्ध विशेष प्रदर्शन तथा खबरदारी सभा आयोजना गर्ने भएको छ ।

आजपा काठमाडौँ उपत्यका विशेष कमिटीले कोटेश्वर स्थित पार्टी कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रणमा पूर्णरुपमा असफल भएको आरोप लगाउँदै भ्रष्टाचार र मनोमानी कर प्रणालीको विरुद्ध आवाज उठाउन विशेष प्रदर्शन गर्न आवश्यक रहेको बताए । उनले दलाल दलतन्त्र विरुद्ध आजपाले बलियो सन्देश दिनेगरी खबरदारी सभा आयोजना गर्न निर्देशन दिए ।

२४ चैतमा हुने यस खबरदारी सभा र प्रदर्शनको माध्यमबाट आजपाले सरकारलाई भ्रष्टाचार नियन्त्रण र कर व्यवस्थापन सुधारमा गम्भीर हुन चेतावनी दिनेछ । साथै, कर आतंक विरुद्ध जनचेतना जगाउन जागरण अभियान समेत सञ्चालन गर्ने निर्णय भएको आजपा प्रवक्ता चन्द्र भूषण साहले जानकारी दिए । यस अभियानको क्रममा अन्तरक्रिया कार्यक्रम, भेला, प्रदर्शन र संगठन विस्तारका गतिविधि समेत समावेश गरिनेछ ।

कार्यक्रमलाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि विभिन्न समितिहरू गठन गरिएको छ । आजपा वरिष्ठ उपाध्यक्ष तिलक थापाको नेतृत्वमा जनपरिचालन समिति, महासचिव त्रिभुवन साहको नेतृत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । त्यसैगरी, उपमहासचिव एवं प्रवक्ता चन्द्र भूषण साहको नेतृत्वमा प्रचार प्रसार समिति, युवा नेता आर्या पाण्डेको नेतृत्वमा स्वयमसेवक परिचालन समिति, रञ्जु साहको नेतृत्वमा आर्थिक परिचालन समिति गठन भएको स्थायी कमिटी सदस्य रवीन्द्र सिंहले बताए ।

यसैक्रममा, आजपाले आउँदो २६ माघमा काठमाडौँमा कर आतंक विरुद्ध विशेष अन्तरक्रिया कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ ।