काठमाडौं, २३ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी संगठनलाई थप सुदृढ बनाउन ४७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले सल्लाहकार समितिसहित विभिन्न विभागहरूको प्रमुख र उपप्रमुखलाई जिम्मेवारी प्रदान गरेको हो ।

समितिमा प्रमुख सल्लाहकारका रूपमा सुमनकुमार चौधरी, नवलकिशोर यादव, सत्यनारायण मेहता, भुवनेश्वर यादव, डा. महादेवप्रसाद देव, सूर्यनारायण यादव, शितलप्रसाद यादव, विमलप्रसाद साह, डा. दिलिपकुमार यादव, सदानन्द सिंह, शारदाप्रसाद ब्रजाचार्य, सत्यनारायण मण्डल, विजयकुमार मण्डल र श्याम यादव लगायतका वरिष्ठ व्यक्तित्वहरूको समावेश गरिएको छ । यस समितिले पार्टीका विभिन्न नीतिगत र रणनीतिक निर्णयहरूमा सल्लाह दिने भूमिका खेल्नेछ ।

पार्टीको संगठनात्मक कामलाई थप सुदृढ बनाउन विभिन्न विभागका प्रमुख र उपप्रमुखलाई पनि जिम्मेवारी बाँडिएको छ । संगठन विभागको प्रमुखमा लालबाबु राउत र उपप्रमुखमा लाक्पा शेर्पालाई नियुक्त गरिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध विभागको नेतृत्व अर्जुन थापाले सम्हाल्ने भएका छन् भने उपप्रमुखको जिम्मेवारी रेणुका सिंहलाई दिइएको छ ।

प्रचार प्रसार तथा प्रकाशन विभागको प्रमुखमा पूर्णबहादुर बस्नेत र उपप्रमुखमा शम्भु झालाई जिम्मेवारी दिइएको छ । महिला विभागको प्रमुखमा प्रमिला यादव र उपप्रमुखको रूपमा शशी लिङदेनले जिम्मेवारी सम्हाल्नेछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या विभागको नेतृत्व डा. सुरेन्द्र यादवले गर्नेछन् भने उपप्रमुखको जिम्मेवारी डा. अब्दुल कलाम अन्सारीलाई प्रदान गरिएको छ । सामाजिक सेवा तथा गैरसरकारी संस्था विभागको प्रमुखमा विनिता यादव र उपप्रमुखमा विणा सिन्हालाई जिम्मा दिइएको छ ।

कृषि तथा भूमि व्यवस्था विभागको नेतृत्व सञ्जय सिंहले लिनेछन् भने मालामति राना थारु उपप्रमुखको रूपमा जिम्मेवारी सम्हाल्नेछिन् ।वन वातावरण तथा विपद् व्यवस्थापन विभागको प्रमुखमा चन्देश्वर पासवान र सहकारी तथा गरिबी निवारण विभागको प्रमुखमा उदयकान्त मिश्रले काम गर्नेछन् ।

शिक्षा विभागमा योगेन्द्र यादव प्रमुख र अन्जेस दाहाल उपप्रमुखको जिम्मेवारीमा छन् । उद्योग वाणिज्य तथा आपूर्ति विभागमा लक्ष्मण गुरुङले प्रमुखको भूमिका निभाउनेछन् ।

जसपाले गठन गरेको नयाँ सल्लाहकार समिति र विभिन्न विभागका प्रमुखहरूले पार्टीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । पार्टीले आफ्ना सदस्यहरूलाई संगठनात्मक रूपमा अघि बढाउन नयाँ योजना र नीतिहरू अघि सार्ने तयारी गरेको छ ।