सामाजिक सञ्जाल नियमनको विधेयक संसदमा पेस, देशद्रोही गतिविधिलाई नियन्त्रण गर्ने गुरुङको प्रतिबद्धता

काठमाडौं, २३ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव भत्काउने, विद्वेष फैलाउने र धार्मिक सहिष्णुता कमजोर गर्ने अभिव्यक्तिहरू रोक्न सामाजिक सञ्जाल नियमनको आवश्यकता रहेको बताउँदै संसदमा सामाजिक सञ्जालसम्बन्धी विधेयक पेस गरिएको जानकारी दिएका छन् ।
मन्त्री गुरुङले सामाजिक सञ्जाललाई अराजक हुनबाट रोक्न र नागरिकहरूको मागअनुसार यसलाई नियमन गर्नैपर्ने परिस्थिति आएको भन्दै उक्त विधेयक ल्याइएको प्रष्ट पारे । उनले मनपरी लेख्ने र अभिव्यक्त गर्ने कुरा लोकतन्त्रको मर्म नभएको र त्यसको नियमन आवश्यक रहेको बताए । ‘लोकतन्त्रमा विरोध हुनु स्वाभाविक हो । तर, देशद्रोही गतिविधि रोक्न नियमन जरुरी छ,’ उनले भने ।
सामाजिक सद्भाव खलल पार्ने क्रियाकलापलाई देशद्रोहको रूपमा लिने र त्यसलाई नियन्त्रण गर्न दण्ड सजायको प्रावधान विधेयकमा समावेश गरिएको मन्त्री गुरुङले स्पष्ट पारे । ‘देशको बारेमा मनपरी भन्ने कुरा लोकतन्त्र होइन,’ उनले जोड दिए ।
गुरुङले जनताको सुसूचित हुने अधिकारको सुरक्षा गरिने र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति कायम राख्नेमा सरकार गम्भीर रहेको उल्लेख गरे । उनले अराजकता अन्त्य र उचित नियमनमार्फत मात्रै लोकतन्त्रलाई बलियो बनाउन सकिने र समृद्धिको यात्रा सहज हुने विश्वास व्यक्त गरे ।
साथै, मन्त्री गुरुङले साइबर अपराधका घटनामा वृद्धि भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न ‘साइबर क्राइम नियन्त्रण ऐन’ को मस्यौदा तयार भइरहेको जानकारी दिए । चालु संसद अधिवेशनमा उक्त मस्यौदा प्रस्तुत गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री गुरुङले अहिले नेपालमा टिकटक मात्रै आधिकारिक रूपमा दर्ता भएको सामाजिक सञ्जाल भएको बताउँदै मेटा (फेसबुक), इन्स्टाग्राम, ह्वाट्सएप लगायतका अन्य सञ्जालहरूलाई पनि दर्ता गराउन आह्वान गरिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


