रमणको नेतृत्वमा संसदीय मामिला पत्रकार समाज, जनकपुरधामको नयाँ कार्यसमिति गठन

जनकपुरधाम, २३ माघ । संसदीय मामिला पत्रकार समाज, जनकपुरधामको नयाँ कार्यसमिति र सल्लाहकार समिति गठन गरिएको छ ।
बुधबार नेपाल पत्रकार महासंघ धनुषाको शास्त्री सभाकक्षमा सम्पन्न भएको पत्रकारहरुको भेलाले छलफल र परामर्शपछि ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिमा वीरेन्द्र रमणलाई अध्यक्षको जिम्मेवारी दिइएको छ भने हदिस खुद्दारलाई उपाध्यक्षको रूपमा चयन गरिएको छ । सचिव पदमा विकास कुमार साह चयन भएका छन् भने सह–सचिवको जिम्मेवारी कमलेश कुमार ठाकुरले सम्हाल्ने भएका छन् । कोषाध्यक्षको पदमा लक्ष्मी चौधरी चयन भएकी छन् ।
अन्य सदस्यहरूमा नविन सिंह, संजय साह, चाँदनी झा, माला राय, राजा झा र संजय यादवलाई चयन गरिएको छ । यी सबै सदस्यहरूले संगठनलाई मजबुत बनाउन र संसदीय मामिलामा सशक्त पत्रकारिता गर्न योगदान दिने विश्वास गरिएको छ ।
सल्लाहकार समितिमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, मनिका झा, अजित तिवारी, श्रीनारायण साह, अजय झा, सुरेश यादव र धिरेन्द्र साह चयन भएका छन् । सल्लाहकार समितिले कार्यसमितिलाई आवश्यक सुझाव र मार्गदर्शन गर्नेछ ।
यो समितिले संसदीय मामिलामा जनकपुरधाममा कार्यरत पत्रकारहरूबीचको समन्वय, समाचार संकलनमा हुने कठिनाई समाधान र पत्रकारिताको उच्च मापदण्ड कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।
यस नव कार्यसमितिको गठनले संसदीय पत्रकारितामा नयाँ गति र उर्जा थपिने अपेक्षा गरिएको छ । पत्रकारहरूबीचको एकता, सहकार्य र जिम्मेवारीलाई अझ सुदृढ बनाउनका लागि समिति अत्यन्तै महत्वपूर्ण हुने अध्यक्ष वीरेन्द्र रमणले बताए ।