काठमाडौं, २२ माघ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका अभियुक्त बेचन झाको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो ।

शरणार्थी प्रकरणसँग जोडिएका व्यक्तिहरूको सूचीमा रहेका झा काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार थुनामा थिए । उनी पहिले पूरक अभियोगपत्रमा दोषी ठहरिएका थिए । उनी उच्च अदालत पाटनसम्म पुगेर राहतको लागि माग गर्दै सर्वोच्च अदालतको ढोका थापेका थिए ।

मुद्दामा अन्य अनुसन्धानहरूमा फरार रहेका झालाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । त्यसपछि जिल्ला अदालत काठमाडौँमा उनको पूरक अभियोगपत्र दर्ता गरि थुनामा पठाइएको थियो । त्यही आदेशको विरुद्ध झा उच्च अदालत पाटन पुगेका थिए ।

उच्च अदालत पाटनले जिल्ला अदालतको निर्णयलाई सदर गरेपछि उनले सर्वोच्च अदालतमा अपिल गरेका थिए । झाले सर्वोच्च अदालतमा निवेदन दायर गर्दै आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णयलाई बदर गरिनुपर्ने माग गरेका थिए ।

सर्वोच्च अदालतको इजलासले माघ ३ गते पहिलो सुनुवाइ गर्दै झाको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको थियो । त्यसको आधारमा हाल अदालतले मिसिल झिकाउने आदेश दिएको हो ।