काठमाडौं, २२ माघ । फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरधाममा पहिलोपटक ‘जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने भएको छ ।

आयोजक संस्था संवाद फाउन्डेसनले मंगलबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त महोत्सवको घोषणा गरेको हो ।महोत्सवले नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, चलचित्र बजारको प्रवद्र्धन र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्य राखेको छ ।

महोत्सवमा १ सय १४ भन्दा बढी देशका चलचित्रले आवेदन दिएका छन् भने नेपाली पानोरामा पनि नेपालभरका विभिन्न भाषाभाषी चलचित्रले आवेदन दिने क्रम जारी रहेको आयोजकले जानकारी दिएको छ । महोत्सवको उद्देश्य नेपालका सबै भाषाभाषी चलचित्रलाई एकै थलोमा समेटी चलचित्र संस्कृतिको प्रवद्र्धन गर्नु रहेको आयोजकको भनाइ छ ।

पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मिथिला क्षेत्रको समृद्ध संस्कृति र यसको विश्वव्यापी पहिचान बनाउन यो महोत्सव महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले महोत्सवमा नेपाली भाषाका साथै मिथिला र अन्य भाषाभाषी चलचित्रलाई पनि समावेश गर्न सुझाव दिए ।

यो महोत्सवले जनकपुरधामलाई चलचित्र पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न थप सहयोग गर्ने विश्वास गरिएको छ । महोत्सवमा अन्तर्राष्ट्रिय स्तरका चलचित्र र सिर्जनात्मक उद्योगका विज्ञहरूको सहभागिताले नेपालमा चलचित्रको सम्भावनाहरू बढाउन महत्त्वपूर्ण अवसरहरू सिर्जना गर्ने अपेक्षा छ ।