राष्ट्रिय हाई–स्कूल च्याम्पियनसिपको मधेश क्वालिफायर विजेता मोनाष्टिक, राष्ट्रिय उपाधिको लागि प्रतिस्पर्धामा

जनकपुरधाम, २२ माघ । युवा खेलाडीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित राष्ट्रिय हाई–स्कूल च्याम्पियनसिप क्रिकेटको मधेश क्वालिफायर प्रतियोगितामा मोनाष्टिक आवासीय माध्यमिक विद्यालयले शानदार प्रदर्शन गर्दै विजयी भएको छ । दृढ संकल्प र उत्कृष्ट खेल कौशलका साथ मोनाष्टिकले मधेशको उपाधि मात्र हात पारेन, ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार ५० हजार रुपैयाँ समेत जित्यो ।
मोनाष्टिकको टोली अब राष्ट्रिय हाई–स्कूल च्याम्पियनसिपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्नका लागि तयारीमा जुटेको छ । यसै क्रममा टोली मंगलबार काठमाण्डौ प्रस्थान गरेको छ । मोनाष्टिक आवासीय माध्यमिक विद्यालयका निर्देशक डा. सोनु साह र खेलकुद प्रशिक्षक बीरेन्द्र कर्णले बधाई दिंदै खेलाडीहरूलाई फूलमाला लगाएर विदाई गरेका हुन् । निर्देशक साहले खेलाडीहरूको मेहनतलाई सराहना गर्दै राष्ट्रिय उपाधि घर ल्याउने विश्वास व्यक्त गरे ।
मधेश क्षेत्रको च्याम्पियन मोनाष्टिक टोलीले अब राष्ट्रिय उपाधिको लक्ष्यसहित उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ ।
मोनाष्टिक टोलीको कप्तान सचिन राज साह र उपकप्तान राहित कुमार महतो रहेका छन् भने विकेट किपरमा शेख गुल्फाम हुसैन छन् ।
त्यस्तै, अन्य खेलाडीहरु कमल चन्द्र शिवहरे, रवि कुमार शर्मा, मो. सदिक रेजा, सन्तोष यादव, रक्की कुमार ठाकुर, अंकित कुमार यादव, राहुल यादव, धिरज कुमार दास, अमन कुमार साह, मो. अयान अक्रम, शषि कुमार यादव र गोवीन्द यादव रहेका छन् ।
टोलीको कोच म्यानेजरको रुपमा बिक्रान्त यादव र संजय सिंह रहेका छन् ।
राष्ट्रिय च्याम्पियनसिपको फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाण्डौमा आयोजना हुने भएको छ, जहाँ सात प्रदेशका विजेता टिमहरूसँगै आयोजक टिम पनि प्रतिस्पर्धामा सहभागी हुनेछ । कुल ८ टिमबीच हुने यो प्रतियोगिताले युवाहरूलाई आफ्नो प्रतिभा उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।
प्रतियोगितामा विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट खेलाडीले १० हजार नगद र ट्रफी प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि १० हजार नगदसहित ट्रफी दिइनेछ ।
यो प्रतियोगितामा नेपालभरका ५७ वटा हाई–स्कूलका टोलीहरूले सहभागिता जनाएका छन् । आयोजकले यो प्रतियोगिताबाट प्रतिभाशाली खेलाडीहरू चयन भई राष्ट्रिय स्तरमा अघि बढ्ने वातावरण निर्माण हुने अपेक्षा राखेको छ ।