काठमाडौं, २२ माघ । आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी (ह्युमन प्यापिलोमाभाइरस) खोप अभियान सुरु भएको छ ।

यो अभियानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्च माध्यमिक विद्यालयमा खोप केन्द्र खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर–३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर औपचारिक रूपमा शुभारम्भ गरेका हुन् ।

अभियान देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई लक्षित गरी सञ्चालन भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप अभियानको मुख्य उद्देश्य देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीहरूलाई सुरक्षित र प्रभावकारी एचपीभी खोप प्रदान गर्नु हो । खोप देशभर एकैपटक सञ्चालन हुने अभियानअन्तर्गत आजदेखि सुरु भई आउँदो फागुन ६ गतेसम्म चल्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एचपीभी खोप सुरक्षित र प्रभावकारी रहेको भन्दै खोप लगाउन आग्रह गरेको छ । पाठेघरको मुखको क्यान्सरलाई रोकथाम गर्न यो खोप अत्यन्तै महत्वपूर्ण मानिन्छ । मन्त्रालयले अभिभावक तथा किशोरीहरूलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्दै यो खोपले भविष्यमा क्यान्सरको जोखिमलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने जानकारी दिएको छ ।

यस अभियानले पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना फैलाउन मद्दत गर्ने र क्यान्सरको रोकथाममा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।