काठमाडौं, २२ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुनसहित एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ की ५८ वर्षीया मैयाँ तामाङ गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई सोमबार दिउँसो विमानस्थलमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

गुरुङ थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौं आइपुगेकी थिइन् । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकै सुरक्षा जाँचका क्रममा उनको साथबाट अवैध सुन फेला परेको थियो । प्रहरीले उनको साथबाट सुनका १६ वटा रिङ, ५ वटा टुक्रा, १ वटा सिक्री, १ वटा औंठी र १ वटा बाला सहित करिब ९८ ग्राम सुन बरामद गरेको छ ।

पक्राउ परेकी गुरुङलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाइएको छ । सोहीअनुसार कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ । अवैध सुन तस्करीको घटनामा प्रहरीले कडाइका साथ निगरानी गरिरहेको जनाइएको छ ।