दूधमति नदीको उकास र विकास प्रदेश सरकारको गौरवको आयोजना : मुख्यमन्त्री सिंह

जनकपुरधाम, २२ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारको गौरवको आयोजना मानिएको दूधमति नदीको उकास र विकास परियोजनालाई तिव्र गतिमा अघि बढाइने बताएका छन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित दूधमति नदीको उद्गम स्थलमा आयोजित ‘श्री श्री १०८ श्री दूधमति (मुण्डन मेला महोत्सव)’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले लोप हुने अवस्थामा पुगेको दूधमति नदीलाई पुनस्र्थापित गर्न यो आयोजना प्रदेश सरकारको ड्रिम प्रोजेक्ट भएको उल्लेख गरे ।
मुख्यमन्त्री सिंहले जानकारी गराएअनुसार प्रदेश सरकारले दूधमति नदीको उद्गम स्थलदेखि दहसम्म फैलिएको २९ किलोमिटर क्षेत्रमा नदीको उकास र विकासका लागि पहिलो चरणमा अढाई करोड रुपैयाँ बजेट छुट्याई नक्सांकनको काम सुरु गरिसकेको छ । आगामी दिनमा उत्खनन र सौन्दर्यकरणको काम चाँडै सुरु हुने उनले बताए । मुख्यमन्त्रीले दूधमति नदीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारले बहुवर्षीय योजना अन्तर्गत काम गरिरहेकोले सबैको सहयोग आवश्यक रहेको धारणा राखे ।
उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले परियोजनाको प्रगति बारे जानकारी गराउँदै दूधमति नदीको विकास कार्य तीव्र गतिमा अघि बढिरहेको बताए । नक्सांकनपछि उत्खनन् र सौन्दर्यीकरणको काम द्रुत गतिमा सुरु गरिने उनले जानकारी दिए । मन्त्री यादवले दूधमति नदीको उद्गमस्थलमा रहेको दूधमति पोखरीको सौन्दर्यकरणका साथै माता कामधेनु र बालस्वरुप माता सीताको मन्दिर, पार्क र पोखरीलाई तालको रुपमा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।
साथै, नदीको बहाव क्षेत्रभर पार्क र मन्दिर निर्माण गर्ने, नदीको दुबै किनारामा सडक निर्माण गर्ने र कृषिका लागि सिचाई सुविधा पुर्याउन विभिन्न स्थानमा ड्याम निर्माण गरिने उनले बताए ।
कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले यस आयोजनालाई नगरपालिकाको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले दूधमति नदीको विकास भएमा यस क्षेत्रमा आर्थिक र पर्यटकीय विकासको ढोका खुल्ने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


