शिक्षक नियुक्तिमा अनियमितता, ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीस्थित देउराली माध्यमिक विद्यालयमा भएको भ्रष्टाचारको घटनामा संलग्न रहेको आरोपमा ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेले सोमबार जारी गरेको विज्ञप्तिमा विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र प्रसाद सापकोटा लगायत अन्य आठजनाविरुद्ध मुद्दा दायर भएको उल्लेख छ ।
आयोगले अनियमितता र भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै मुद्दा दायर गरेको छ । यसमा गलत लिखत तयार पार्नु, गैर कानुनी लाभ प्राप्त गर्नु र सरकारी रकमको दुरुपयोग गर्ने कार्यको आरोप छ । शिक्षक नियुक्तिमा अनियमितता गरेको सम्बन्धी उजुरी अनुसन्धान गर्दा नियुक्ति प्रक्रियामा कुनै कानुनी मापदण्ड पूरा नगरी गैरकानुनी रूपमा शिक्षक नियुक्ति दिइएको पाइएको छ ।
अनुसन्धानको क्रममा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा नक्कली कागजात तयार गरी हाजिरी प्रमाणित गर्दै कालिगण्डकी गाउँपालिकामा पेस गरेर सरकारी तलब निकासा गरेको खुलासा भएको छ । यस अनियमिततामा दोषी ठहरिएकाहरूले वार्षिक पारिश्रमिक रकम गैर कानुनी रूपमा बुझेको पाइएपछि आयोगले उनीहरूमाथि ८ लाख ८७ हजार ८८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरूमा तत्कालीन व्यवस्थापन समिति अध्यक्ष सापकोटासँगै तत्कालीन प्रधानाध्यापक तथा सदस्य सचिव मित्रलाल पाण्डे, कर्मचारी प्रेम नारायण पाण्डेय, व्यवस्थापन समितिका सदस्यहरू वेदबहादुर राना मगर, लक्ष्मी भण्डारी न्यौपाने, पदमपानी पाण्डे, सरस्वती पाण्डे, ईश्वरा दर्लामी र बलबहादुर न्यौपाने रहेका छन् ।
अख्तियारले दोषीहरूमाथि कानुनी कारबाहीको माग गर्दै भ्रष्टाचार निवारणको लागि विशेष अदालतमा मुद्दा अघि बढाएको छ ।
घटनासँग सम्बन्धित व्यक्तिहरूले कानुनको मापदण्ड पूरा नगरी गैरकानुनी कार्य गरेका कारण देशको शैक्षिक प्रणालीमा नकारात्मक असर पारेको भन्दै आयोगले सार्वजनिक विश्वासको लागि कानुनी प्रक्रिया आवश्यक भएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


