सरकारविरुद्ध मोर्चा नबनाएको मधेशकेन्द्रित आठ दलको भनाइ

काठमाडौँ, २१ माघ । मधेशकेन्द्रित आठ राजनीतिक दलले संयुक्त मोर्चा गठन गरे पनि उक्त मोर्चा सरकारविरुद्ध नभएको स्पष्ट गरेका छन् ।
सोमबार बसेको आठ दलीय कार्यदलको बैठकपछि नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशमलाल चौधरीले सञ्चारकर्मीसँगको कुराकानीमा मोर्चाको उद्देश्य सरकारविरुद्ध नभई समान मुद्दालाई अघि बढाउने भएको प्रस्ट पारे ।
‘धेरैले यो मोर्चालाई सरकारविरुद्धको रूपमा देखिरहेका छन् । तर, त्यो सत्य होइन । हाम्रो उद्देश्य समान मुद्दाहरूलाई संसद् र सरकारसमक्ष कसरी प्रभावकारी ढंगले उठाउने भन्नेमा केन्द्रित छ,’ चौधरीले भने ।
उनका अनुसार आठ दलको यो मोर्चा समान मुद्दा बोकेका दलहरूको बीचमा भएको सहकार्य हो । कार्यदलको मुख्य जिम्मेवारी भनेको संसद् र सरकारमाथि यी मुद्दाहरूलाई कसरी प्रभावकारी रूपमा प्रस्तुत गर्ने भन्ने हो । विशेषगरी विगतका घटनाहरूलाई राज्यले लिएको दृष्टिकोण र ती मुद्दाहरू अझै किन टुंगोमा पुग्न सकेनन् भन्ने विषयमा छलफल भएको चौधरीले जानकारी दिए ।
बैठकले थरुहट आन्दोलनसँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ । यससँगै अध्यादेशबारे दलहरूको धारणा निर्माण गर्ने लगायतका विषयमा समेत छलफल भएको चौधरीले जानकारी गराए ।
‘हामीले यस बैठकमा मुख्यतः राज्यसँगका समसामयिक विषयहरूमा छलफल गरेका छौं । हाम्रो लक्ष्य भनेको राज्यसँगका समस्याहरूको दीर्घकालीन समाधान खोज्नु हो,’ चौधरीले थपे ।
आठ दलहरूको यो मोर्चाले अबका दिनमा संसद र सरकारलाई सम्बोधन गर्दै थरुहट आन्दोलनका मुद्दाहरूलाई प्राथमिकतामा राखी अगाडि बढ्ने योजना बनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


