लिम्बुवान राज्यको पक्षमा राजेन्द्र महतोको आह्वान : ‘सत्ताको सेयर लिम्बुलाई दिनुपर्छ’

काठमाडौँ, २१ माघ । मुकुमलुङ संरक्षण संघर्ष समितिको आह्वानमा माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले लिम्बुवान राज्यको अधिकारको मुद्दालाई जोड दिएका छन् ।
महतोले आफ्ना धारणा राख्दै भने, ‘यो देश लिम्बुको हो कि होइन ? यदि हो भने सार्बभौमसत्ता लिम्बुहरूसँग साझा गर्नुपर्छ । लिम्बुवान स्वायत्तता स्थापित हुनुपर्छ ।’ उनले थप्दै भने, ‘लिम्बुवान राज्य भएको भए केबुलकार निर्माणको निर्णय नै हुने थिएन । लिम्बु समुदायले आफ्नो राज्य नपाएसम्म न त लोकतन्त्र सम्भव छ न त मानव अधिकार ।’
महतोले सरकारको क्रियाकलापप्रति कटाक्ष गर्दै भने, ‘हाल केवलकारको निर्माण जारी राखिएको छ र आन्दोलनकारीहरूलाई पक्राउ गर्दैछ । तर, सरकार वार्ताको नाटक गर्दैछ । यो तर्साउने, धम्क्याउने र दमन गर्ने पुरानो नीतिले वार्ता सम्भव छैन ।’
विरोध प्रदर्शनमा महतोले सम्पूर्ण उत्पीडित समुदायको एकताको आवश्यकता औँल्याउँदै भने, ‘केवल लिम्बु समुदायको सहभागिताले मात्र समस्या समाधान हुन सक्दैन । सबै उत्पीडितहरूको एकता अनिवार्य छ । यो केवल केवलकार वा रोजिरोटीको सवाल होइन, यो वैचारिक र दार्शनिक मुद्दा पनि हो । स्वदेशी सत्ताको अभावमा पूर्ण विजय सम्भव छैन ।’
उनले राष्ट्रिय मुक्ति क्रान्तिको औचित्यलाई थप स्पष्ट पार्दै, ‘मधेस र आदिवासीहरूको अधिकार संरक्षणका लागि राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य छ । मुकुमलुङको संघर्षले राष्ट्रिय मुक्ति क्रान्तिको औचित्यलाई अझै बलियो बनाउँदैछ । अब बहुलराष्ट्रिय राज्य स्थापनाका लागि लामबद्ध हुन जरुरी छ ।’
महतोले सांस्कृतिक सम्पदा संरक्षणको महत्वबारे भने, ‘नश्लीय सरकारको गलत नियतको भण्डाफोर गर्दै हामीले मुन्धुमी आस्था स्थल र सांस्कृतिक सम्पदा जोगाउन सबै एकजुट हुनुपर्छ । लिम्बू अब एक्लो छैन, उसको साथमा मधेस पनि उभिएको छ ।’
सम्बोधनको अन्त्यमा महतोले राज्यद्वारा हुने दमनको कठोर प्रतिवाद गर्ने चेतावनी दिँदै भने, ‘अब इटको जवाफ पत्थरले दिइने छ । एक्लो संघर्षले जस्तै दमन सधैँ सम्भव छैन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


