काठमाडौं, २१ माघ । नेकपा माओवादी केन्द्रले पार्टीका प्रदेश इन्चार्जहरू तोकेको छ । पार्टीको पदाधिकारी बैठकले प्रदेश तथा विशेष क्षेत्रहरूको जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गर्दै इन्चार्जहरूको नाम सार्वजनिक गरेको हो ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार विभिन्न प्रदेशमा जिम्मेवारी बाँड्दै कोशी प्रदेशको इन्चार्ज उपमहासचिव हरिबोल गजुरेललाई तोकिएको छ भने मधेश प्रदेशमा उपमहासचिव मातृका यादवले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, बागमती प्रदेशमा सचिव हितमान शाक्य, गण्डकी प्रदेशमा सचिव दिनानाथ शर्मा, लुम्बिनी प्रदेशमा सचिव चक्रपाणी खनाल, कर्णाली प्रदेशमा स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

पार्टीले विशेष क्षेत्रहरूको जिम्मेवारीसमेत तोकेको छ । विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्तीलाई जिम्मेवारी दिइएको छ भने सार्क क्षेत्रको इन्चार्ज लक्ष्मण पन्त र यूरोप–अमेरिका इन्चार्जको जिम्मेवारी राम कार्कीलाई दिइएको छ । एसिया क्षेत्रको इन्चार्ज ओम शर्मा रहने भएका छन् ।

यसअघि उपाध्यक्ष अग्नि सापकोटा बागमती प्रदेशको इन्चार्ज थिए भने युरोप–अमेरिका प्रवासको इन्चार्ज पम्फा भुसाल थिइन् । माओवादी केन्द्रले महासचिवभन्दा माथिका पदाधिकारीलाई भूगोलको जिम्मेवारी नदिने नीति अवलम्बन गर्दै यो निर्णय गरेको प्रवक्ता सापकोटाले बताएका छन् ।

यस निर्णयसँगै नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी संगठनलाई अझै सशक्त बनाउँदै विभिन्न प्रदेश र विशेष क्षेत्रहरूमा नयाँ नेतृत्वको जिम्मेवारी सुम्पिएको छ ।