जनकपुरधाम, २० माघ । मधेश प्रदेश सभाले आफ्नो सातौं वार्षिक उत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पान्न गरेको छ।

वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधामको एयरपोर्ट गेटदेखि प्रदेश सभा भवनसम्मको सडक किनारमा वृक्षारोपण गरिएको हो।

कार्यक्रमको नेतृत्व सभामुख रामचन्द्र मण्डलले गरेका थिए । उनीसँगै उपसभामुख बबिता ईशर, प्रदेश सभा सदस्यहरू, कर्मचारी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

वृक्षारोपण अभियानले मधेश प्रदेशमा हरियाली विस्तार गर्दै वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सभामुख मण्डलले वृक्षारोपणले स्वच्छ हावा, हरियाली तथा जैविक विविधताको संरक्षणमा टेवा पुर्‍याउने उल्लेख गरे । उपसभामुख ईशरले वातावरणीय संरक्षणका यस्ता प्रयासहरू निरन्तर जारी राख्न प्रदेश सभाले प्रतिबद्धता व्यक्त गरेको बताइन्।

कार्यक्रममा सहभागीहरूले वृक्षारोपण मात्र नभई वृक्षको संरक्षण तथा दिगो वातावरणीय विकासका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए।

प्रदेश सभाले आगामी दिनहरूमा पनि यस्ता प्रकृतिप्रेमी अभियानहरू सञ्चालन गर्ने बताएको छ ।