मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध एचपिभि खोप अभियान सुरू

जनकपुरधाम, २० माघ । मधेश प्रदेशमा ३ लाख ६९ हजार १ सय २४ किशोरीलाई पाठेघरमा लाग्ने क्यान्सर (सर्भाइकल क्यान्सर) को जोखिमबाट जोगाउन एचपिभि (ह्यूमन प्यापिलोमाभाइरस) खोप दिने तयारी गरिएको छ । यस अभियान अन्तर्गत प्रदेशभरका १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई माघ २२ गतेदेखि खोप लगाउन थालिने छ ।
प्रदेशभरका ३ हजार ३ सय २५ विद्यालयमा अध्ययनरत तथा विद्यालय बाहिर रहेका बालिकाहरूलाई लक्षित गर्दै स्वास्थ्य निर्देशनालयले यो अभियान सञ्चालन गर्न लागेको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवण नायकका अनुसार खोप र अन्य आवश्यक सामग्री प्रदेशका सबै जिल्लाहरूमा पठाइसकिएको छ । खोप कार्यक्रमलाई सफल बनाउन अभिभावक तथा शिक्षकहरूको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
नायकले खोप अभियानको तयारी पूरा भएको जानकारी दिँदै खोप कार्यक्रमलाई प्रभावकारी बनाउन अभिभावक र शिक्षकहरूलाई सचेत रहन तथा बालिकाहरूलाई खोप लिन प्रोत्साहित गर्न अभिमुखीकरण समेत गरिसकेको बताए । खोप अभियानमा सहभागी हुन बालिकाहरूलाई समयमै विद्यालय वा नजिकको स्वास्थ्य चौकीमा जान आग्रह गरिएको छ ।
यो खोप पाठेघरको क्यान्सरबाट बच्नका लागि निकै प्रभावकारी मानिन्छ । पाठेघरको क्यान्सर नेपालमा महिलाहरूमा हुने प्रमुख क्यान्सर मध्ये एक हो । यो खोपले यस रोगको जोखिमलाई न्यूनीकरण गर्ने विश्वास गरिएको छ । यस अभियानले मधेश प्रदेशमा हजारौं किशोरीहरूलाई यो घातक रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सरकारले देशभरमा यो खोप कार्यक्रम विस्तार गर्ने योजनामा रहेको छ । यसको शुरुवात अहिले मधेश प्रदेशबाट भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


