जनकपुरधाम, १९ माघ । भारतको प्रयागराजमा महाकुम्भ मेलामा सहभागी भएर फर्किंदै गरेको नेपाली परिवारको जिप शनिबार दिउँसो बिहारको मुजफ्फरपुरमा दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य चारजना गम्भीर घाइते भएका छन् ।

घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको स्कार्पियो जिप मोटरसाइकललाई बचाउने प्रयासमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा जिपले पाँच पटक बल्ड्याङ खाएको र सोही कारण ठूलो क्षति भएको जनाइएको छ ।

तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा महोत्तरीका पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा श्रीमान, श्रीमती, मामा, माइजु र चालकको मृत्यु भएको हो । दुर्घटनामा थप चार जना गम्भीर घाइते भएका छन् । भारतको प्रभात खवर दैनिकका सुरसण्ड प्रतिनिधि पत्रकार विजय नारायण मिश्रका अनुसार जिप अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा महोत्तरीको मनरासिस्वा नगरपालिका–२ कट्टी घर भएका ६० वर्षीय बालकृष्ण झा, ५० वर्षीया इन्दु देवी, ५५ वर्षीय मनतारण देवी, ३० वर्षीया अर्चना झा र सिरहा जिल्ला घर भएका नाम थर नखुलेका स्कर्पियो चालकको मृत्यु भएको हो ।

दुर्घटना मुजफ्फरपुर सदरथाना क्षेत्रको मादापुर फोरलाइन सडक खण्डमा रहेको मधुबनी मन्दिर नजिक भएको पत्रकार मिश्रले जानकारी दिए ।

घाइतेलाई मुजफ्फरपुरको एसकेएमसीएच (श्रीकृष्ण मेडिकल कलेज एण्ड हस्पिटल)मा उपचारका लागि भर्ना गरिएको छ । घाइते कामिनी झाले दिएको जानकारी अनुसार उनीहरू प्रयागराजमा महाकुम्भ स्नान सकेर अयोध्या र वाराणसीको धार्मिक यात्रा पनि सम्पन्न गरी घर फर्किंदै थिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी र महोत्तरी जिल्लाका प्रशासनिक कार्यालयहरूले भने दुर्घटनाबारे औपचारिक जानकारी प्राप्त नभएको बताएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार घटनामा मृतक र घाइते सबै एकै परिवारका सदस्य थिए ।

दुर्घटनाको वास्तविक कारण अझै अनुसन्धानको क्रममा रहेको भए तापनि प्रारम्भिक रिपोर्टअनुसार तीव्र गति र मोटरसाइकल बचाउने प्रयासले दुर्घटना निम्त्याएको बताइएको छ ।

तस्बिर : सोनु निधि