मधेश प्रदेश सभाको ७औं वार्षिकोत्सवमा बृहत सरसफाइ

जनकपुरधाम, १६ माघ । मधेश प्रदेश सभाले आफ्नो ७औं वार्षिकोत्सवको अवसरमा बृहत सरसफाइ र विभिन्न सांस्कृतिक, खेलकुद तथा सामाजिक कार्यहरू गरेको छ । वार्षिकोत्सवको प्रमुख कार्यक्रम विश्वप्रसिद्ध जानकी मन्दिर परिसरको सरसफाइ थियो ।
कार्यक्रम अन्तर्गत जानकी मन्दिरको चारैकुना प्राङ्गण तथा वरिपरि सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रममा प्रदेश सभाका उच्च अधिकारीहरू र विभिन्न पार्टीका प्रतिनिधिहरूले सहभागी भएर स्वच्छतामा योगदान दिएका छन् ।
प्रदेश सभाले यस अवसरमा विविध खेलकुद प्रतियोगिताहरूको आयोजना पनि गरेको छ । यस बर्षको वार्षिकोत्सवमा व्याडमिन्टन, भलिवल, चेस, टेनिस, म्युजिकल चेयर, क्यारमबोर्ड र लुडो प्रतियोगिता समावेश गरिएको छ ।
मधेश प्रदेश सरकारको रक्तसञ्चार केन्द्रसँगको समन्वयमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो । त्यस्तै, एक मानविय पहलको रूपमा, गरिबी र निमुखालाई जाडोको मौसमबाट बच्न आवश्यक सामग्रीको वितरण पनि गरिएको थियो ।
प्रदेश सभा सचिवालयका सचिव वासु कोईरालाले जानकारी दिए अनुसार वार्षिकोत्सवको अवसरमा जनकपुरधामको विभिन्न स्थानहरूमा वृक्षारोपण र सरसफाइ कार्यक्रम पनि सञ्चालन गरिनेछ ।
सरसफाइ कार्यमा प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक फकिरा मण्डल, जनता समाजवादी पार्टी नेपालका उपनेता रामअशिष यादव, नेकपा एकीकृत समाजवादी पार्टीका रत्नेश्वर गोईत, नेपाली काँग्रेसका सचेतक कुमरकान्त झा, जनमत पार्टीका संजय यादव लगायत मधेश प्रदेश सभाका कर्मचारीहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।