काठमाडौं, १६ माघ । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी)का ७५ पद रिक्त भएका छन् । गत शुक्रबार मध्यराति प्रहरी प्रधान कार्यालय नक्सालले ३७ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेपछि रिक्त डीएसपीको पदसंख्या ७५ पुगेको हो ।

यसअघि नेपाल प्रहरीमा ३८ डीएसपीका पदहरू खाली थिए । तर, हाल थप ३७ जना डीएसपी एसपीमा सिफारिस भएसँगै यो संख्या दोब्बर भएको छ । प्रहरी प्रधान कार्यालयले अब रिक्त पदहरू पूर्ति गर्न इन्सपेक्टरहरूको डीएसपीमा बढुवाको तयारी थालेको छ ।

२०७० सालमा इन्सपेक्टर पदमा भर्ना भएका प्रहरी अधिकारीहरू मुख्य प्रतिस्पर्धामा छन् । यस ब्याचमा १४४ जना भर्ना भएका थिए । त्यसमध्ये अहिले ७९ जना अझै इन्सपेक्टरकै पदमा कार्यरत छन् ।

यसअघि २०७० सालको ब्याचबाट दुई चरणमा डीएसपीमा बढुवा भइसकेको छ । पहिलो चरणमा २२ जेठ २०८० मा ४६ जना डीएसपीमा बढुवा भएका थिए भने दोस्रो चरणमा २२ चैत २०८० मा थप १९ जना बढुवाका लागि सिफारिस गरिएको थियो ।

अब बाँकी ७९ इन्सपेक्टरहरूबाट डीएसपीका लागि ७५ जनालाई मात्र बढुवा गरिने भएकाले चार जनाले तेस्रो चरणको बढुवामा समेटिन पाउने छैनन् ।

डीएसपी बढुवाका लागि प्रहरी महानिरीक्षकको अध्यक्षतामा बढुवा समिति रहने छ । यसमा गृहमन्त्रालयका सहसचिव र महानिरीक्षकले तोकेको एआई वा डीआईजी सदस्य सचिवको रुपमा सहभागी हुनेछन् । प्रहरी प्रधान कार्यालयले केही दिनमै डीएसपी बढुवाका लागि सिफारिस गर्ने तयारी गरिरहेको छ ।

बढुवाको तयारीसँगै प्रतिस्पर्धामा रहेका इन्सपेक्टरहरूले डीएसपीमा सिफारिस हुनका लागि विभिन्न शक्तिकेन्द्र धाउन सुरु गरेको चर्चा पनि चुलिएको छ ।