सामाजिक सञ्जाल विधेयकका प्रावधानप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं, १६ माघ । नेपाल पत्रकार महासंघले सरकारले संघीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति गम्भीर आपत्ति जनाएको छ ।
महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै सरोकारवाला पक्षसँग पर्याप्त परामर्श र छलफल नगरी विधेयक अगाडि बढाइएकोमा गम्भीर असहमति प्रकट गरेको हो ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा विधेयकमा समावेश गरिएका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्न सक्ने आशंका गरिएको छ । यसै कारणले महासंघले सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न आग्रह गर्दै विधेयकलाई संशोधन गरेर मात्र अघि बढाउन चेतावनी दिएको छ ।
सरकारले दर्ता गराएको उक्त विधेयकले सामाजिक सञ्जाल नियमन गर्नेतर्फ भन्दा पनि नागरिकको बोल्न पाउने संवैधानिक अधिकारलाई सीमित गर्न खोजिएको टिप्पणी गरिएको छ ।
महासंघले विधेयकले प्रहार गर्ने सम्भावित असरबारे गहिरो चिन्ता व्यक्त गर्दै विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यता, संवैधानिक प्रावधान र प्रचलित अभ्यासहरूसँग मेल खाने गरी विधेयकमा आधारभूत संशोधन गर्नुपर्नेमा जोड दिएको छ ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने कुनै पनि कानुन स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारसँग विधेयकलाई संवादमार्फत सन्तुलित बनाउने प्रक्रिया अघि बढाउन अपिल गरेको छ ।