एजेन्सी, १६ माघ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलामा बुधवार बिहान भएको भागदौडमा १२ जनाको मृत्यु भएको बताइएको छ । गङ्गा, यमुना र सरस्वती नदीको संगममा स्नान गर्न आएका तीर्थयात्रीहरूको भीड व्यवस्थापन गर्न नसक्दा यो दुर्घटना भएको हो । यद्यपि यो घटनाले भक्तजनहरूको त्रिवेणीमा स्नान गर्ने क्रम भने रोकिएको छैन ।

घटनापछि प्रहरीले सुरक्षाव्यवस्था थप कडा पार्न थालेको छ । प्रहरी स्रोतका अनुसार भिडले बार र अवरोध तोडेर अगाडि बढ्न खोज्दा भागदौड मच्चिएको हो । प्रत्यक्षदर्शीका अनुसार ठेलमठेलका कारण मानिसहरू लड्दा धेरैजना किचिएका थिए । स्वास्थ्यकर्मीहरूको भनाइअनुसार घटनामा १२ जनाको मृत्यु भएको छ भने धेरैजना गम्भीर घाइते भएका छन् ।

घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग निरन्तर सम्पर्कमा रहेको बताए । उनले कुम्भमेलाको व्यवस्थापनलाई चुस्त बनाउने आश्वासन पनि दिए । तर, सरकारले हालसम्म मृतकको आधिकारिक सङ्ख्या र अन्य विवरण सार्वजनिक गरिसकेको छैन । यसको चौतर्फि आलोचना भइरहेको छ ।

भागदौडपछि कुम्भमेलाका विभिन्न अखडाहरूले औँसीका दिन गर्ने विशेष स्नान कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छन् । अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीले जनहितको लागि विशेष स्नान कार्यक्रम नगर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रशासनले स्थिति नियन्त्रणमा रहेको दाबी गरेपनि भक्तजनहरूलाई संगमतिर नजान र नदीको किनारमै स्नान गर्न आग्रह गरेको छ ।मुख्यमन्त्री योगी आदित्यनाथले केही तीर्थयात्रीले सुरक्षाकर्मीहरूद्वारा राखिएको अवरोध पार गर्न खोज्दा घटना भएको पुष्टि गरेका छन् । उनले घटनापछि पनि मेला क्षेत्रमा करिब ८ देखि १० करोड तीर्थालु रहेका जानकारी गराए ।

यता, विपक्षी दलका नेताहरूले घटनाप्रति दुःख व्यक्त गर्दै व्यवस्थापनमा भएको त्रुटिका कारण यस्तो दुर्घटना भएको आरोप लगाएका छन् । कांग्रेसका नेता राहुल गान्धीले भीआईपीलाई बढी प्राथमिकता दिँदा सर्वसाधारण भक्तजनहरूलाई बेवास्ता गरेको आरोप लगाउँदै प्रशासनको आलोचना गरे ।

कुम्भमेलालाई संसारकै सबैभन्दा ठूलो धार्मिक भेला मानिन्छ । यस वर्षको कुम्भमेलामा जनवरी १३ देखि हालसम्म २० करोडभन्दा बढी भक्तजनले स्नान गरिसकेका छन् । उक्त मेलामा लाखौँ तीर्थयात्रीको उपस्थितिले सुरक्षामा ठूलो चुनौती खडा गरेको छ । अधिकारीहरूले भने सुरक्षाव्यवस्था थप सुदृढ पारिएको र घटनास्थलमा आकस्मिक उपचार सुविधाहरू उपलब्ध गराइएको बताएका छन् ।

कुम्भमेला धार्मिक आस्थाको केन्द्र रहेपनि यस पटकको भागदौडले सुरक्षामा कमजोरी र व्यवस्थापनमा देखिएका त्रुटिहरूलाई उजागर गरेको छ । सरकार र स्थानीय प्रशासनले यस प्रकारको दुर्घटना पुनः नदोहोरिने गरी थप सावधानी अपनाउनुपर्ने माग तीव्र भएको छ ।