आशिका तामाङलाई शुक्रबारसम्म प्रहरी हिरासतमै राखिने

काठमाडौं, १५ माघ । आफूलाई अभियन्ता बताउने आशिका तामाङलाई आउँदो शुक्रबारसम्म प्रहरी हिरासतमा नै राखिने भएको छ ।
भक्तपुरस्थित प्रहरी वृत्त जगातेले उनलाई आपराधिक उपद्रवको आरोपमा अनुसन्धान सकेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । मंगलबार अदालतमा उनको बयान र थुनछेक बहस नसकिएपछि अदालतले उनलाई प्रहरी जिम्मा लगाएको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले अदालतको प्रक्रिया नसकिएकाले उनलाई शुक्रबारसम्म प्रहरीकै जिम्मामा राखिएको जानकारी दिए । मंगलबार सार्वजनिक बिदा परेकाले अदालतले सो निर्णय गरेको हो ।
आशिका तामाङमाथि आपराधिक उपद्रवसम्बन्धी मुद्दा लागेको छ । उनको मुद्दा मुलुकी फौजदारी अपराध संहिताको परिच्छेद २६ अन्तर्गत पर्ने दफा २८५ मा उल्लेख छ । उक्त कसुरमा दोषी ठहरिए ५ देखि १२ वर्षसम्म कैदको सजाय हुने प्रावधान छ ।
आशिकाले केही समय अघि भक्तपुरको साँगास्थित झोलुङ्गे पुल तरेवापत २० रुपैयाँ शुल्क असुल्ने कार्यको विरोध गर्दै रसिद च्यातेकी थिइन्, जसका कारण सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।
यसअघि काठमाडौं जिल्ला प्रशासनले उनलाई अभद्र व्यवहारको आरोपमा १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, रिहा भएसँगै भक्तपुर प्रहरीले उनलाई पुनः हिरासतमा लिएको हो ।
कानूनी विश्लेषकहरूले भने आशिकाविरुद्ध लगाइएको मुद्दा फौजदारी न्याय सिद्धान्त विपरीत रहेको बताएका छन् । बरिष्ठ अधिवक्ता डा. नारायण प्रसाद घिमिरेका अनुसार आशिकाको गतिविधिमा खराब मनसाय देखिएको छैन र सामान्य नसिहत दिएर समस्या समाधान गर्न सकिने अवस्था थियो ।
उनले थपे, ‘उनको व्यवहारले कानुनी उल्लंघन भएपनि यो विषयले समाजमा कुनै ठूलो क्षति पुर्याएको छैन । सामान्य अनुशासनात्मक कारबाहीले पनि समाजमा अनुशासन कायम गर्न सकिन्छ । यसलाई फौजदारी मुद्दा बनाएर अघि बढाउनु कानूनको दुरुपयोग हो ।’