जनकपुरधाम, १५ माघ । नेपालका पहिलो गणतान्त्रिक शहीद दुर्गानन्द झाको बलिदानी दिवस मंगलबार धनुषामा मनाइएको छ । विभिन्न स्थानहरूमा कार्यक्रम आयोजना गरी उनलाई श्रद्धाञ्जली दिइएको हो ।

मंगलबार धनुषाको नगराइन नगरपालिकास्थित राष्ट्रिय आधारभूत विद्यालय जटही, राघोबाबा आधारभूत विद्यालय राघोपुर, नगराइन हेल्थपोष्टलगायत विभिन्न स्थानमा स्थानीय प्रदिप कुमार चौधरीको अध्यक्षतामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

नेपाली राजनीतिमा अमिट छाप छोडेका झाको जीवन र बलिदानको महत्त्व युवापुस्तामाझ बिस्तारै बिर्सिंदै गए पनि यो दिवसले उनलाई फेरि एकपटक राष्ट्रको सामु ल्याएको छ ।

दुर्गानन्द झाले प्रजातन्त्रको पक्षमा आफ्नो प्राण आहुति दिए । उनी १९९९ साल वैशाख १४ गते धनुषा जिल्लाको जटही गाउँमा जन्मिएका थिए । तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रलाई समाप्त गर्ने प्रयास गरेपछि ९ माघ २०१८ मा झाले जनकपुरको जानकी मन्दिरमा राजामाथि बम आक्रमणको योजना बनाए । त्यस घटनापछि पक्राउ परेका झालाई २०२० साल माघ १५ गते काठमाडौंको केन्द्रीय कारागारमा मृत्युदण्ड दिइएको थियो ।

दुर्गानन्द झाको जीवन संघर्ष र साहसको प्रतीक थियो । बाल्यकालमा पिताको निधन र नवविवाहित जीवनका अनेक पीडाहरूको बाबजुद उनी देशको भविष्यका लागि लड्न तयार भए । उनका राजनीतिक कदमहरूले नेपालमा प्रजातन्त्रप्रतिको संघर्षलाई अझ तीव्र बनाएको थियो । भारतीय स्वतन्त्रता संग्रामका क्रान्तिकारीहरू भगत सिंह र चन्द्रशेखर आजादबाट प्रेरित झा तत्कालीन निरंकुश पञ्चायती शासनको विरोधमा अग्रसर भएका थिए ।

जनकपुरमा राजा महेन्द्रमाथि बम प्रहार गर्ने योजनामा मुख्य भूमिका निर्वाह गरेका झाको योजना असफल भए तापनि सुरक्षाकर्मीहरूबाट फरार रहे । यस घटनापछि उनले आफूले गरेको कार्यको जिम्मेवारी लिन र निर्दोषलाई यातना पाउन नदिन आत्मसमर्पण गरे । त्यसपछि उनीमाथि राजद्रोहको अभियोग लाग्यो र मृत्युदण्डको सजाय सुनाइयो ।

दुर्गानन्द झालाई मृत्युदण्डको सजाय सुनाइएपछि उनकी आमा र पत्नीलाई अन्तिम भेटका लागि बोलाइएको थियो । उनले आमालाई सान्त्वना दिंदै भने, ‘आमा, तपाईंलाई कुनै दिन दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गर्नेछन् ।’ श्रीमतीलाई पनि आमाको हेरचाह गर्न आग्रह गरेका थिए ।

१५ माघ २०२० मा उनलाई फाँसी दिइयो । फाँसीको क्षणसम्म पनि उनी निर्भीक र अडिग देखिएका थिए । उनीमाथि पञ्चायती सरकारले चलाएको मुद्दामा सफाइको अवसर नदिएर विशेष अदालतले मृत्युदण्डको निर्णय सुनायो, जुन नेपालमा ब्राह्मण समुदायमाथि लगाइएको पहिलो मृत्युदण्ड थियो ।

शहीद दुर्गानन्द झाको बलिदानले नेपालको लोकतान्त्रिक आन्दोलनलाई ठूलो प्रेरणा दियो । झाको योगदान र बलिदानले नेपालका युवाहरूलाई सधैं प्रेरित गरिरहनेछ ।