जनकपुरधाम, १४ माघ । राजर्षि जनक विश्वविद्यालय उपकुलपतिको कार्यालयले भ्रामक प्रेस विज्ञप्ती प्रकाशित गरेको भन्दै नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।

माघ १३ गते आइतबार उपकुलपतिको कार्यालयबाट जारी प्रेस विज्ञप्तीमा नेपाली कांग्रेसका वरिष्ठ नेताहरूको पुत्ला कसले षडयन्त्र गरि र किन दहन गरेको ? भन्ने कुराहरुको कुनै खण्डन नै नगरि आफ्नै तरिकाले मनगढन्त र भ्रामक कुरा लेखिएको नेविसंघको ठहर छ ।

नेविसंघबाट स्ववियू सभापतिका प्रत्याशि त्रिलोक कुमार यादवलाई बदनाम गर्ने गरी बदनियत मनसायले भ्रामक विज्ञप्ती लेखिएकोप्रति आपत्ति जनाएको हो ।

विश्वविद्यालय समितिका सचिव आनन्द द्विवेदीले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै राजर्षि जनक विश्वविद्यालयलाई कुनै पनि बहानामा राजनीतिक अखाडा बन्न नदिने र भ्रष्टाचार गर्न खोज्ने भ्रष्ट मानसिकताका व्यक्तिहरुको भण्डाफोर गर्ने चेतावनी दिएका छन् ।

उनले विश्वविद्यालयमा सुरु गरिएको बिनाशकाले राजनीति र भ्रष्ट मानसिकता विरुद्धको संघर्षमा कसैसँग नडराई सबैलाई एकजुट भएर शैक्षिक वातावरण सुधार्ने अभियानमा लाग्नसमेत आह्वान गरेका छन् । भ्रष्ट शिक्षा माफिया, तानाशाही व्यवस्था विरुद्ध अनवरत संघर्षरत रहने उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

भएको के थियो ?

नेविसंघ केन्द्रीय कार्यसमितिद्वारा आयोजित “अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि–२० कप जय नेपाल प्रतियोगिता” मा सहभागी हुनका लागि विश्वविद्यालयका उपकुलपतिको नाममा गत पुष ७ गते पत्रचार गरिएको थियो । उक्त पत्र नेविसंघले उपकुलपतिलाई ७ गते नै बुझायो । पत्र अनुसार विश्वविद्यालयबाट पुष १३ गतेभित्र सहभागी हुने टिमको नाम पठाई दिन भनि उल्लेख भएपनि विश्वविद्यालयबाट समय सिमाभित्र टिमको नाम पठाइएन ।

माघ ६ गते स्ववियु सभापति एवम् अन्य विद्यार्थीहरूद्वारा नेपाली कांग्रेसका शिर्ष नेताहरुको पुतला दहन गरियो । त्यसपछि नेविसंघले विश्वविद्यालयका उपकुलपति एवम् क्याम्पस प्रमुखले उत्प्रेषण गरी नेपाली कांग्रेसका वरिष्ठ नेताहरुको पुतला दहन गर्न लगाएको आरोप लगाउँदै स्ववियुको कार्यकक्षमा तालाबन्दी गर्यो । सोही दिन साँझसम्म विश्वविद्यालयको तर्फबाट वार्तामा बोलाउन वास्ता नगरिएको देखेपछि नेविसंघले पनि सडकमा विरोध जनायो ।

त्यसको भोलिपल्ट माघ ७ गते स्ववियु समितिद्वारा नेविसंघका का.वा. सभापतिको नाममा वार्ता पत्र अनुसार उनीहरु वार्तामा सहभागी भए । स्ववियु समितिले पनि उपकुलपति एवम् क्याम्पस प्रमुखको गैरजिम्मेवारीपनको कारणले गर्दा विश्वविद्यालय उक्त खेलबाट बाहिरिएको ठहर गर्दै नेविसंघसँग सहमतिको कागजातमा सम्झौता गरेको थियो ।