जनकपुरधामका विद्यालयहरु दुई दिनका लागि बन्द

जनकपुरधाम, १० माघ । तराई मधेशमा अत्यधिक चिसो बढेपछि स्थानीय सरकारले विद्यालयहरुमा धमाधम बिदा दिन थालेको छ ।
विपद् व्यवस्थापन समितिको बैठकले जनकपुरधाम उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु माघ ११ गतेदेखि १३ गतेसम्म दुई दिन जाडो बिदा दिने निर्णय गरेको हो ।
उपमहानगरका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख धीरेन्द्र लाल कर्णले बिहीबार एक सूचना जारी गर्दै जानकारी गराएका हुन् । दुई दिनको जाडो बिदा शैक्षिक क्यालेण्डरमा उल्लेखित वर्षे बिदावाट कट्टा गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
अत्यधिक जाडोको कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै माघ ११ गते शुक्रबारदेखि १३ गते आइतबारसम्म जम्मा २ दिन वर्षे बिदावाट कट्टा हुने गरी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रशासनिक कार्यवाहेक पठन–पाठन बन्द रह्ने उनले जानकारी दिए ।
अत्यधिक चिसो बढ्दा बालबालिकालाई विद्यालय आउन जान तथा पठनपाठनमा असहज भइरहको भन्दै पालिकाहरु धमाधम बिदा दिन थालेको हो ।
तराई मधेशमा केही दिन यता चिसो बढ्दा जनजीवन कष्टकर बनेको छ ।