काठमाडौं, माघ ८ । निर्वाचन आयोगद्वारा “राष्ट्रिय मुक्ति पार्टी नेपाल” नामक नयाँ राजनीतिक दलको दर्ता प्रक्रिया सम्पन्न गरिएको छ ।
पार्टीलाई प्रमाणपत्र प्रदान गर्दै आयोगले यस दलको चुनाव चिन्हको रूपमा ग्यास सिलिण्डर र झण्डामा गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष राखिएको घोषणा गरेको छ ।
पार्टीको दर्ता नं. २०१ कायम गरिएको छ । राजनीतिक दलको मुख्य कार्यदिशा भनेको स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादलाई मार्ग निर्देशक सिद्धान्तका रूपमा लिँदै देशको राजनीतिक प्रणालीमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखिएको छ ।
आधिकारिक रूपमा “राष्ट्रिय मुक्ति पार्टी नेपाल” नामको नयाँ दलको दर्ता निर्वाचन आयोगद्वारा माघ ८ गते निर्णय भएको छ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १०, शङ्खमुल, काठमाडौंमा रहेको छ । यस अवसरमा दलका अध्यक्ष राजेन्द्र महतोले जनतालाई पार्टीको सदस्यता ग्रहण गरी सक्रिय रूपमा पार्टीमा लाग्न अपील गरेका छन् ।
महतोले भने, “हामी देशको समृद्धि, राष्ट्रिय एकता र सामाजिक न्यायका लागि समर्पित छौं । पार्टीका उद्देश्य र सिद्धान्तहरूलाई कार्यान्वयन गर्दै देशलाई नयाँ राजनीतिक दिशा दिन हामी प्रतिबद्ध छौं । यो नयाँ दलले जनताको आकांक्षाहरूलाई सम्बोधन गर्दै समृद्ध भविष्य निर्माणमा योगदान पुर्याउने छ ।”
पार्टीका नेताहरूले जनताको समस्यामा ध्यान दिँदै आगामी चुनावमा सक्रिय सहभागिता जनाउने योजना बनाएका छन् ।