जनकपुरधाम, ७ माघ । नव मिथिला फाउण्डेशनले आगामी माघ २४ गतेदेखि सुरू हुने छैटौं जनकपुर साहित्य महोत्सवको तयारीलाई तीव्र बनाएको छ ।
महोत्सवको महत्वपूर्ण अंशको रूपमा विद्यालयस्तरीय कविता प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कथा वाचन प्रतियोगिता र अन्तरविद्यालय चित्रकला प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
सोहीक्रममा सोमबार आयोजित विद्यालयस्तरीय वकतृत्वकला प्रतियोगिताको पहिलो चरणको अडिसन राउण्डमा सहभागी २६ विद्यालयहरु मध्ये टप फाइभ छनौट भएका छन् ।
छनौट भएकाहरुमा डेफोडिल्स पब्लिक इंग्लिश बोर्डिङ्ग स्कूलका सत्यम झा, ज्ञानदा इन्टरनेशनल बोर्डिङ्ग स्कूलका सिद्धि ठाकुर, साउथ प्वान्ट बोर्डिङ्ग स्कूलका राजनन्दनी यादव, एर्रे इन्टरनेशनल बोर्डिङ्ग स्कूलका अंशुका पाण्डेय र मिथिला मन्टेसरी बोर्डिङ्ग स्कूलका रितिका यादव रहेका छन् ।
विद्यालयस्तरीय कविता प्रतियोगिताको अडिशन राउण्ड ८ गते मंगलबार, विद्यालयस्तरीय कथा वाचन प्रतियोगिताको अडिशन राउण्ड ८ गते मंगलबार र अन्तरविद्यालय चित्रकला प्रतियोगिताको अडिशन राउण्ड माघ ९ गते बुधबार गरिने फाउण्डेशनका अध्यक्ष अमित साहले जानकारी दिए ।
फाउण्डेशनले गर्न लागेको अन्तरविद्यालय प्रतियोगिताबाट विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूले महोत्सवको छैठौ संस्करणमा सहभागिता जनाउने छन् । जहाँ प्रथम हुनेले २१ हजार, दोस्रो हुनेले११ हजार र तेस्रो हुनेले ५ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।
नव मिथिला फाउण्डेनको आयोजनामा विगत पाँच वर्षदेखि जनकपुर साहित्य महोत्सव हुँदै आएको छ । महोत्सव अन्तर्गत हरेकपटक वक्तृत्वकला प्रतियोगिताको आयोजना हुने गर्दछ । यसपटक हुने छैटौं साहित्य महोत्सवमा वक्तृत्वकलासँगै कविता र कथा वाचन प्रतियोगिता पनि गराउने तयारी छ । यी तीनवटै प्रतियोगिताको अन्तिम प्रतियोगिता महोत्सवको मञ्चमा हुनेछ ।
प्रतियोगिताबाट छनोट भएका पाँचजनाले महोत्सवको मञ्चमा आफ्नो कला प्रस्तुत गर्ने अवसर पाउनेछन् । सोही मञ्चमा हुने अन्तिम प्रतियोगिताको दौरान प्रथम, द्वितीय र तृतिय हुने विद्यार्थीहरू पुरस्कृत हुनेछन् ।