जनकपुरधाम, ६ माघ । नेविसंघका विद्यार्थीहरुले आज राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रो. डा. अमर प्रसाद यादवको पुत्ला जलाएका छन् ।
उपकुलपति यादवसँगै क्याम्पस प्रमुख डा. सरोज ठाकुरको मिलोमतमा स्ववियू सभापतिलाई उचालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वउपसभापति विमलेन्द्र निधिको तस्बिर जलाइएको भन्दै विरोधस्वरुप पुत्ला जलाइएको हो ।
नेविसंघका विद्यार्थीहरुले आजको प्रदर्शनमा उपकुलपति यादवको राजीनामा माग गर्दै जोरदार विरोध जनाएका छन् । विरोध प्रदर्शनको नेतृत्व गर्दै नेविसंघ स्ववियू सभापतिका प्रत्याशि त्रिलोक कुमार यादवले पुत्ला दहनको कारणको बारेमा जानकारी दिएका छन् ।
यादवले भने, ‘उपकुलपति यादवले नेविसंघको नाममा कुनै पनि प्रकारको सहयोग नगर्ने मानसिकता देखाइ उल्टै हामीलाई बदनाम गर्न चाहिरहेका छन् ।’
नेविसंघले विश्वविद्यालय प्रशासनको ढिलाइ र अव्यवस्था कारणले ‘जय नेपाल टि–२० कप’ प्रतियोगितामा विश्वविद्यालयको सहभागिता प्रभावित भएको जनाएको छ । क्याम्पस प्रशासनले समयमै दर्ता नगरेपछि उक्त प्रतियोगितामा राजर्षि जनक विश्वविद्यालय सहभागी हुन नसकेको यादवले बताए ।
विश्वविद्यालय प्रशासनले स्ववियू सभापतिलाई उचालेर कांग्रेस सभापति देउवा र पूर्वउपसभापति निधिको चित्र जलाएर आफ्नो गल्तीलाई ढाकछोप गर्न चाहेको आरोप छ ।
विद्यार्थीहरुले उपकुलपतिको आचरणलाई विश्वविद्यालयको शैक्षिक वातावरणमा प्रतिकूल प्रभाव पार्ने गरेको र विद्यार्थीको अधिकारमा हस्तक्षेपसमेत गर्न खोजिएको आरोप लगाएका छन् ।