जनकपुरधाम, ६ माघ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा. रामनरेश पण्डितलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर) पदमा नियुक्त गरिएको छ ।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. अंकुर साहको सिफारिसमा प्रतिष्ठानका सहकुलपति एवम् मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले डा. पण्डितलाई यो जिम्मेवारी दिएका हुन् ।

चिकित्सा शास्त्रमा २३ वर्षको अनुभव भएका डा. पण्डित यस क्षेत्रमा वरिष्ठ स्त्रीरोग विशेषज्ञका रुपमा परिचित छन् । उनले आजै पदभार ग्रहण गरेका छन् । यसअघि प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशकका रुपमा कार्य गरिसकेका डा. पण्डितको कार्यकाल ५ वर्षको रहने छ ।

प्रतिष्ठानमा लामो समयदेखि शिक्षाध्यक्षको पद रिक्त रहेको कारण शैक्षिक गतिविधि बढाउनमा कठिनाइ भइरहेको थियो । डा. पण्डितको नियुक्ति पछि अब प्रतिष्ठानको शैक्षिक कार्यमा सुधारको आशा गरिएको छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि एमबिबिएस पढाइ सुरु भएको छ । र, पहिले नै चिकित्सा विज्ञानका ४ विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तरको पठनपाठन पनि भइरहेको छ ।

प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसको सिफारिसमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.पण्डित रेक्टर नियुक्त भएका छन् ।

प्रतिष्ठानका तत्कालीन रेक्टर डा.अंकुर साहलाई जसपा नेपाल नेतृत्वको पूर्ववर्ती सरकारले उपकुलपति बनाएपछि रिक्त सो पदमा ढिलोगरी डा.पण्डित नियुक्त भएका हुन् ।