जनकपुरधाम, ६ माघ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको स्ववियू कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

उपकुलपति र क्याम्पस प्रमुखको मिलोमतमा स्ववियू सभापतिलाई उचालेर नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको चित्र जलाउन लगाइएको भन्दै तालाबन्दी गरिएको हो ।

नेविसंघले विश्वविद्यालय प्रशासनको ढिलाइ र अव्यवस्था कारणले ‘जय नेपाल टि–२० कप’ प्रतियोगितामा विश्वविद्यालयको सहभागिता प्रभावित भएको जनाएको छ । क्याम्पस प्रशासनले समयमै दर्ता नगरेपछि उक्त प्रतियोगितामा राजर्षि जनक विश्वविद्यालय सहभागी हुन नसकेको नेविसंघका कार्यबाहक सभापति त्रिलोक कुमार यादवले बताए ।

विश्वविद्यालय प्रशासनले स्ववियू सभापतिलाई उचालेर कांग्रेस सभापति देउवा र पूर्वउपसभापति निधिको चित्र जलाएर आफ्नो गल्तीलाई ढाकछोप गर्न चाहेको आरोप छ । यादवले भने, “यो घटनाले हाम्रो भावनालाई गहिरो चोट पुर्याएको छ, त्यसैले हामीले आज स्ववियू कार्यकक्षमा तालाबन्दी गरेका हौं । यो विरोध केवल यस घटनासँग मात्र सिमित छैन, बरु सम्पूर्ण विश्वविद्यालय प्रशासनको अनियमितताविरुद्ध पनि हो ।“

नेविसंघले भविष्यमा यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न र विश्वविद्यालय प्रशासनबाट बढी पारदर्शिता र उत्तरदायित्वको माग गर्दै आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएको छ ।

यस घटनाले विश्वविद्यालयको शैक्षिक र प्रशासनिक व्यवस्थामा के कस्ता सुधार आवश्यक छन् भन्ने विषयमा थप बहसको आवश्यकता भएको छ ।