जनकपुरधाम, ६ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले एकताको संवादलाई छिटोछरितो निष्कर्षमा पुर्याउन उच्चस्तरीय वार्ता समिति गठन गरेको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै उक्त समिति बारे जानकारी दिएका हुन् ।

समितिमा पार्टीका वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण सदस्य रहने गरी गठन गरिएको हो । अध्यक्ष ठाकुरका अनुसार यसअघि लोसपाले पाँच सदस्यीय कार्यदल बनाएको थियो । जुन अब खारेज गरिएको छ । त्यसको स्थानमा उच्चस्तरीय वार्ता समिति गठन गरिएको हो ।

कार्यदलमा रहेका सदस्यहरूमा वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा. सुरेन्द्रकुमार झा र महासचिव मनिषकुमार मिश्र समावेश थिए ।

लोसपाले राजनैतिक अधिकार प्राप्तिको लागि संघर्षशील राजनीतिक शक्तिहरूसँग संवाद, सहकार्य र कार्यगत एकता गर्नुको महत्त्व औंल्याउँदै एकता प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्याउने कुरा जनाएको छ ।

यसअघि, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले मधेशका दलहरू बीच सहकार्य र एकता स्थापना गर्न राजकिशोर यादवको नेतृत्वमा समिति बनाएको थियो । त्यस्तै, सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच पनि सहकार्यको प्रयास भइरहेको छ ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि मधेशी शक्तिहरू बीच संवाद सुरू गर्दै एकता अपील गर्दैछन् ।