जनकपुरधाम, ५ माघ । मधेश आन्दोलनका शहीदहरुको सम्झनामा जनकपुरधाममा १८औँ बलिदानी दिवस मनाइएको छ ।

जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन नेपाल र समाजवादी युवा संघले दीप प्रज्वलन गरी बलिदानी दिवस मनाएको हो ।

मधेश विद्रोहको क्रममा शहीद भएको सम्झनामा बलिदानीको संज्ञा दिँदै मधेश केन्द्रित दलले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् ।

दीप प्रज्जवलन अघि आयोजित कार्यक्रममा बोल्ने जसपाका नेताहरुले शहीदहरुको बलिदानीका कारण नै देशमा परिवर्तन भएको बताए । उनीहरुले शहीदहरुको सपना साकार पारेर छाड्ने दाबी गरेका थिए ।

कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य रामअशिष यादव, केन्द्रिय सदस्य एवम् जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर लाल किशोर साह, प्रदेश सभा सदस्य ममता मण्डल, पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द यादव, जसपा नेपालका धनुषा जिल्ला अध्यक्ष पशुपति यादवलगायत समाजवादी विद्यार्थी युनियन नेपाल र समाजवादी युवा संघका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरुले अहिलेको संविधानले सबै नागरिकको अधिकार समेट्न नसकेकोले संविधान संशोधनको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

उनीहरुले संविधान संशोधन नभएसम्म संघर्ष जारी रहने बताएका थिए ।