जनकपुरधाम, ५ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशलाई अधिकारसम्पन्न बनाउन अझै संघर्षको आवश्यकता रहेको बताएका छन् ।

गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गत रहेको मधेशी शहीद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले मधेश आन्दोलनको बलमा मुलुकले संघीयता पाएको र बाँकी अधिकार प्राप्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताएका हुन् ।

सिंहले चरणबद्ध रुपमा अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने भन्दै भने, “अहिले अझै कयौँ अधिकार प्राप्त गर्न बाँकी छन् । प्राप्त उपलब्धीलाई संस्थागत गर्दै बाँकी अधिकारका लागि संघर्ष गर्नु आजको आवश्यकता हो ।”

मुख्यमन्त्री सिंहले मधेश आन्दोलनको फलस्वरूप मुलुक संघीय संरचनामा प्रवेश गरेपनि प्रदेश सरकारलाई प्रहरी प्रशासन र ठूला कामका लागि संघको मुख ताक्नुपर्ने बाध्यता रहेको बताए । उनले प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरु बनाइए पनि वास्तविक कार्यक्षमता सीमित रहेको बताएका छन् ।

सिंहले शहीद परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै शहीद परिवारका लागि रोजगारीका अवसर सृजना गर्न कानून बनाउने योजना रहेको जानकारी दिए ।

गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीको अध्यक्षतामा आयाजित कार्यक्रममा शहीद परिवारका सदस्य र जिउँदो शहीदलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।