जनकपुरधाम, ४ माघ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका, ह्याविट्याट फर ह्युम्यानिटी नेपाल र रतौली युवा क्लबबीच सुरक्षित आवास परियोजना अन्तर्गत गाउँपालिका अध्यक्ष आवास परियोजना सञ्चालन गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं. २ का भूमिहीन दलित, जनजाति र अतिविपन्न परिवारहरूका लागि सुरक्षित भूमि र आवास निर्माण गरिनेछ । यस परियोजनामा ३० परिवारलाई आवासको सुविधा उपलब्ध गराइने छ ।

सम्झौतामा उल्लेखित शर्तअनुसार गाउँपालिकाले भूमिहीन सुकुम्बासी परिवारलाई र घरधनीको जग्गामा आवश्यक पूर्वाधार जस्तै बाटो, बिजुली, खानेपानी र शौचालय सहितको सुरक्षित र व्यवस्थित आवास निर्माण गर्ने व्यवस्था गर्नेछ ।

सम्झौताले २०८१ माघ ३ गतेबाट लागू भई २०८२ असार १६ गतेसम्म काम पूरा गर्ने लक्ष्य राखेको छ ।

यस परियोजना मार्फत सामाजिक र आर्थिक दृष्टिले पछाडि परेका समुदायहरूको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।