राजर्षि जनक विश्वविद्यालयका उपकुलपति यादवमाथि नेविसंघको आरोप

जनकपुरधाम, ३ माघ । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रो. डा. अमर प्रसाद यादवले नेपाल विद्यार्थी संघ (नेविसंघ)लाई असहयोग गरिरहेको आरोप लगाइएको छ ।
नेविसंघका नेता त्रिलोक कुमार यादवका अनुसार ’अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय जय नेपाल टि–२० कप’ प्रतियोगितामा विश्वविद्यालयका विद्यार्थीहरूको नामावली प्रकाशित भएको भएपनि विश्वविद्यालयका उपकुलपतिले प्रतियोगितामा सहभागिता सुनिश्चित गर्नका लागि आवश्यक बजेट विनियोजन नगरेको आरोप लगाएका हुन् ।
यादवले भने, “उपकुलपति यादवले नेविसंघको नाममा कुनै पनि प्रकारको सहयोग नगर्ने मानसिकता देखाइ उल्टै हामीलाई बदनाम गर्न चाहिरहेका छन् ।“
विद्यार्थी नेता यादवले विश्वविद्यालयको प्रशासनको यो कदमको घोर विरोध गर्दै भने, “हामीलाई असहयोग गरेर उपकुलपति यादवले विद्यार्थीहरूको भविष्यसँग खेल्ने काम गरिरहेका छन् ।“ उनले भने, “हामीसँगको असहयोगी र शत्रुतापूर्ण रवैया विश्वविद्यालयको शैक्षिक वातावरणलाई कमजोर पार्ने खतरा उत्पन्न गर्न सक्छ ।“
नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव र नेतृ चित्रलेखा यादवको सक्रियता मार्फत काँग्रेसकै कोटाबाट नियुक्त भएका उपकुलपति यादवले आफ्नो कार्यकालमा विद्यार्थीहरूको आवश्यकतामा ध्यान नदिएको आरोप समेत लगाइएको छ ।
प्रतियोगिता माघ ७ गतेदेखि सुरु भइरहेको छ । प्रतियोगितामा नेपालसहित १० राष्ट्रका १६ विश्वविद्यालयका टिमहरू सहभागी हुने भएका छन् ।
यो प्रतियोगिता नेविसंघको केन्द्रीय कार्यसमितिको आयोजना र युवा तथा खेलकुद मन्त्रालय एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सह–आयोजनामा भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


