जनकपुरधाम, ३ माघ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार स्वाभिमान दिवस मनाइएको छ ।

माघ ३ गतेका दिन प्रदेश नं. २ बाट मधेस प्रदेश नामकरण गरिएको र प्रदेशको राजधानी जनकपुरधाम तोकिएको सम्झनामा जनता समाजवादी पार्टी नेपालले स्वाभिमान दिवस मनाएको हो ।

२०७८ माघ ३ गतेकै दिन तत्कालीन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो ।

२०७८ साल माघ ३ गतेका दिन प्रदेश सभाको बैठकबाट प्रदेश राजधानी तोकिएको र प्रदेशको नामकरण गरिएको सम्झनामा जनकपुरधामस्थित जनकचोकमा दीप प्रज्जवलन गरी स्वाभिमान दिवस मनाइएको प्रदेश सभा सदस्य रामअशिष यादवले जानकारी दिए ।

मधेश प्रदेशमा १०७ सदस्य रहेपनि प्रदेशको राजधानी र नामकरण गर्नेबेला १०४ सदस्य कायम रहेको थियो । प्रदेश सभामा प्रदेशको राजधानी र नामकरण विषयमा भएको मतदानमा ९९ जना सांसद उपस्थित थिए ।

प्रदेशको राजधानी जनकपुरधाम हुनुपर्ने पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए भने प्रदेशको नामकरण मधेश प्रदेश हुनुपर्ने प्रस्तावम ८० जना सांसदले मत दिएका थिए ।